चितवन विशेष
चितवनमा भोलिदेखि विषादी प्रयोगमुक्त सप्ताहः सडक नाटकदेखि बाली उपचार शिविरसम्म

कृष्ण आचार्य,
चितवन,पुस २२-
चितवनमा भोली (बुधवार) देखि ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकोले यसको न्यूनिकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उदेश्यले उक्त सप्ताह सुरु गर्न लागिएको हो ।
आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर २३ गतेदेखि २९ गतेसम्मका सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ । सप्ताहमा जनचेतनामूलक ¥याली, सडक नाटक, विद्यालय स्तरिय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो । अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागु गर्न र आईपीएम कार्यक्रमलाई बढवा दिन कार्यलयले निरन्तर अभियान संचालन गरिरहेको उहाँले बताउनुभयो ।
‘पछिल्लो समय विषादीको प्रयोग भयावह छ,उहाँले भन्नुभयो’,यसको असरबारे सबैमा चेतना फैलाउन जरुरी छ ।’ रसायनिक विषादीको न्युनीकरण गर्ने उदेश्यले स्वास्थ्य र वातावरण अनुकुल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको ७ जिल्लामा सामुदायीक आईपिएम श्रोतकेन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । काठमाडौं बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा कार्यक्रम गर्न लागिएको हुमागाईले जानकारी दिनुभयो । सोमबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यसबर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔं,जैविक विविधताको संरक्षण गरौं’ भन्ने तय गरिएको छ । सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढिभन्दा बढि सहभागि गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । कार्यक्रम मार्फत बालिनालीलाई जोगाउन प्रांङगारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने ढकालले बताउनुभयो । सप्ताह अवधिभर कृषि प्राविधिकहरु खटिनेछन् । प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र,ललितपुरको आयोजना र बाली संरक्षण प्रयोगशाला प्रदेश नम्वर ३ हेटौंडा तथा कृषि ज्ञानकेन्द्र चितवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
प्रदेश नम्वर ३ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले भरतपुर २ क्षेत्रपुरको तरकारी बजारमा दुई साता अघिमात्र विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सो प्रयोगशालामा दैनिक रुपमा तरकारी तथा फलफुलको विषादी परिक्षण हुनेगरेको ढकालले बताउनुभयो ।
नेपालमा सन् १९५२ सालमा मामलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यस पछिका बर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिबर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र,ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रति इकाइ जमिनमा विषादीको प्रयोग निकै कम भएपनि ८५ प्रतिशत बढि विषादी तरकारी वालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङकमा उल्लेख छ । गतबर्ष मात्र नेपालमा ६३२.४१ टन खास विषादी आयात भएको छ । जसमा कीटनासक २१६ टन, रोगनाशक २६७ टन, झारनासक १४२ टन र अन्य ५ टन रहेको छ । विषादी आयातको लागि करिव ८४ करोड रुपैंया गतबर्ष खर्च भएको छ ।
विषादीले मानव जीवनमा तत्काल तथा दिर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टी कमजोर तथा अन्ततः मृत्यु समेत हुने गरेको छ । विषादीकै कारण विश्वमा बार्षिक करिब ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।
























