चितवन विशेष
चितवनमा ९१ मानवअधिकार उल्लङ्घनका घटना,२५ बालिका बलात्कृत
चितवन,पुस १५-
जिल्लामा सन् २०१९ मा ९१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि चितवनमा सङ्कलित घटनाको भरतपुरमा वार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कारका घटना भएको उल्लेख गरेको छ ।
सन् २०१९ (२०७५ पुस १७ देखि २०७६ पुस १३ सम्म)को चितवन जिल्लाको प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीले जिल्लामा ४० वटा बलात्कारका घटना भएको जानकारी दिए । उनका अनुसार २५ वटा बालिका बलात्कार र १५ वटा महिला बलात्कारका घटना रहेका छन् । यसैगरी ६ वटा बाल यौनदुव्र्यवहारका घटना मध्ये दुई जना बालिका र चार जना बालक परेका छन् ।
बालक अप्राकृतिक मैथुन पीडित हुन् । त्यसैगरी, आठ वटा बलात्कार प्रयासका घटना जिल्लामा भएको अधिकारीले बताए । त्यसैगरी जातीय विभेदका ४, महिला हत्या १, पुरुष हत्या ३ नवजात शिशु ३ (२ छोरी १ छोरा) रहेका छन् । पत्रकार सम्मेलनमा १ जना बालिका र ६ जना महिला बेचबिखनमा परेको जनाइएको छ । यो अवधिमा १९ वटा बहुविवाहका घटना दर्ता भएका छन् ।
चितवन जिल्ला अदालतबाट एक वर्षको अवधिमा दर्ता भएका मध्ये गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका १६ वटा घटनामा अभियोग आंशिक तथा पूरा दावी पुग्ने भनी फैसला भएको सो अवसरमा जानकारी गराइयो । अन्य मुद्दाहरु अदालतमा चालु अवस्थामै रहेका छन् ।
सो अवसरमा जिल्ला न्यायाधीश हेमन्त रावलले इन्सेकको प्रतिवेदनले आफूहरुलाई झस्काएको र जिम्मेवार बनाएको बताए । उनले कानुन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय भएको बताए । अदालतले कानुनमा जे व्यवस्था छ सोही अनुसार निर्णय गर्ने बताउँदै उनले भने, “अपराध नगरेको व्यक्तिलाई सजाय गर्नु झनै ठूलो अपराध हो ।”
कानुन मान्ने बफादार नागरिकको सङ्ख्या बढ्दै जानुपर्नेमा कानुन उल्लङ्घन गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको डरलाग्दो समाजमा हामीहरु रहेको उनले उल्लेख गरे । कानुन जस्तो छ सोही आधारमा आफूहरुले काम गर्ने बताउँदै उनले भने, “कानुन राम्रो छ भने राम्रो न्याय हुन्छ, खराब छ भने खराब न्याय हुन्छ ।” कानुन नै खराब छ भने पनि न्यायाधीशले ‘ट्रयाक’ छोड्न नमिल्ने उनले बताए । कानुन कस्तो छ भन्ने कुरा समाजका विद्वत वर्ग र पत्रकारले भन्नुपर्ने उनले बताए ।
सो अवसरमा अधिवक्ताहरु जगन्नाग भण्डारी, फूलमाया रानाभाट, कल्पना उप्रेती, महिला अधिकारवादी नेतृ मीना खरेल, मानवअधिकारवादी राजेन्द्र पौडेललगायतले समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको बताए ।
























