चितवन विशेष

भरतपुरमा अत्याधुनिक ढल प्रशोधन केन्द्र स्थापना हुने,अध्ययन सुरु

Banner

चितवन,पुस १५-

भरतपुर महानगरपालिकामा अत्याधुनिक प्रविधिबाट ढल निर्माण तथा प्रशोधन केन्द्रको स्थापना गरिने भएको छ । शहरबाट निस्कने दिसाजन्य फोहोरलाई व्यवस्थित गर्नका लागि सङ्घीय सरकारले भरतपुरमा ढल निर्माण प्रशोधन केन्द्र स्थापना गर्न लागेको हो ।

“भरतपुरमा ढल निर्माण तथा प्रशोधन केन्द्र स्थापनाका लागि अध्ययन शुरु गरिएको छ” सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनीयर चिरञ्जीवि सेढाईले भने, “अध्ययनका लागि चालु आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।” सेढाईका अनुसार महानगरपालिकाको माग अनुसार आयोजना अगाडि बढेको छ ।

ढल निर्माण तथा प्रशोधन केन्द्र स्थापना गर्न भरतपुर महानगरपालिकासँग समन्वय भइरहेको उनले जानकारी दिए । मानिसको मलमुत्र सेफ्टी ट्याङ्कीमा नराखी ढल मार्फत एकठाउँ बनाएर प्रशोधन गर्ने आयोजनाको योजना रहेको छ । ढलबाट निस्किएको फोहोर पानीलाई प्रयोग गर्न योग्य बनाउने सेढाईले जानकारी दिए ।

आयोजनाले भरतपुर महानगरपालिकाको कोर एरियालाई लक्षित बनाएर काम अगाडि बढाउने उनको भनाइ छ । “शहरी क्षेत्रमा घना बस्ती भएकाले दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न निकै कठिन छ । यसले बजार नै दुर्गन्धित हुने गरेको छ,” सूचना अधिकारी सेढाईले भने, “अहिले भरतपुरको बजार क्षेत्रलाई हेरेर काम अगाडि बढाउँछौँ । तत्काल ग्रामीण भेगमा यसको आवश्यकता पनि छैन ।” सङ्घीय सरकारले भरतपुर महानगरलाई समेट्नेगरि डीपीआर तयार गर्न भनेको छ । तर, सबै क्षेत्रलाई समेट्न अहिले सम्भव नरहेको उनले बताए ।

भरतपुर महानगरपालिकाको सबै क्षेत्रलाई समेट्ने गरी आयोजना सञ्चालन गर्नका लागि तीन अर्ब रुपैयाँ भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । यस परियोजना सम्पन्न गर्नका लागि करिब दुई बिघासम्म जग्गा आवश्यकता पर्ने उनको भनाइ छ । अहिले सम्भाव्यता अध्ययनको क्रममा भएकाले कति खर्च लाग्ने भनेर एकीन गर्न नसकिने उनले बताए । यसअघि नारायणगढमा ४० घरधुरीलाई समेटेर ढलको प्रशोधन गरिएको थियो ।

यो परियोजनाबाट प्रशोधित पानी पिउन नमिले पनि अन्य प्रयोजनका लागि प्रयोगमा ल्याउन सकिनेछ । स्वचालित यी आयोजनाबाट पानी मात्रै सफा हुने छैन, उर्जा, बायोग्यास, मलसमेत निकाल्ने योजना छ । सबै फोहर पानी प्रशोधन केन्द्रबाट ढल प्रशोधन गरी नदीमा सफा पानी बिसर्जन गर्ने लक्ष्य छ ।

यसबाट नदीको प्रवाह र गुणस्तरमा सुधार आउने अपेक्षा छ । प्रशोधनका क्रममा निस्किने लेदोलाई थप प्रशोधन गरी मलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ । यो आयोजनाबाट भरतपुर महानगरपालिका सबै नगरवासीलाई समावेश गरिने लक्ष्य छ । तर, तत्कालका लागि भरतपुर महानगरपालिकाको कोर एरियालाई समावेश गरिने इन्जिनीयर सेढाईले जानकारी दिए । आयोजनाबाट नदीको वातावरणीय अवस्थामा सुधार आई जैविक विविधता, मनोरञ्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

आधुनिक प्रशोधन केन्द्रहरुमा दुर्गन्ध फैलिने भाग छोपिने र अत्याधुनिक प्रविधियुक्त फिल्टरहरु समेत जडान गरिने हुँदा वरपर दुर्गन्ध नफैलिनेगरि योजना अगाडि बढाउने तयारी रहेको छ । प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा निस्कने ग्यासलाई प्रयोग गर्न समेत सकिने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । यस परियोजनाले वर्षातको पानीलाई भन्दा दिसाजन्य फोहोरलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>