चितवन विशेष
नारायणी कला मन्दिरको अध्यक्षमा उद्धव जोशी निर्वाचित

चितवन, पुस १४-
कला क्षेत्रमा उल्लेखीय योगदान पुर्याउँदै आएको नारायणी कला मन्दिर चितवनको अध्यक्षमा उद्धव जोशी निर्वाचित भएका छन् ।
आज (सोमबार) भएको ४४ औं साधारण सभा तथा अधिवेशनबाट जोशीको अध्यक्षतामा निर्वाचित भएका हुन् । यससंगै जोशी कला मन्दिरको २१ औं अध्यक्ष बनेका छन् । अध्यक्षमा निर्वाचित जोशीले निकटम प्रतिद्धन्द्धी दीपक शाही ठकुरीलाई ६८ मत अन्तरले पराजित गरे ।
जोशीले ९४ मत ल्याए भने ठकुरीले २६ मत पाए । निर्वाचनमा १ सय २२ जनाले मतदान गरेका थिए । एक मत बदर भएको थियो । यस्तै सदस्यहरुमा ११ जना चयन भएका छन् । निर्वाचित सदस्यहरुमा सुविर श्रेष्ठ, रविन्द्र रेग्मी, अनुकुल श्रेष्ठ ‘प्रणव ’, हर्षमान श्रेष्ठ , प्रविण श्रेष्ठ , हरिराज भण्डारी, सुस्मिता श्रेष्ठ ‘सुमन ’ , शालिकराम सापकोटा, रामशरण शिलवाल , सनदकुमार पिया र सुशिल गोपाल न्याछ्यो रहेका छन् । सदस्यहरुबाट पदाधीकारी चयन हुने कला मन्दिरका निवर्तमान अध्यक्ष अमरदेव प्रधानले जानकारी दिए ।
अधिवेशनमा शिव रेग्मी स्मृति पुरस्कार कला मन्दिरकी कलाकार निशु मगरलाई प्रदान गरिएको थियो । त्यस्तै कला मन्दिरका कलाकार मध्येबाट सपना नेपाली र सृजना पौडेललाई उत्कृष्ट कलाकालको रुपमा पुरस्कृत गरिएको थियो ।
























