चितवन विशेष

भ्रमण वर्षको तयारीमा देवघाटधाम

Banner

देवघाट,पुस १२-

तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । देवघाटमा रहेका विभिन्न मठमन्दिर, धर्मशाला, आश्रम र गुरुकुल तथा विभिन्न सांस्कृतिक सम्पदा पर्यटकको स्वागतको पखाइमा रहेको छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने गरी पर्यटन वर्षको अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । पर्यटकको स्वागतको लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापिठ तथा आश्रमहरुको तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहार लगायतका कार्यक्रम सञ्चालन गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

देवघाटमा महाशिवरात्री, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुने र अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतको विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरेको छ ।

देवघाटस्थित हरिहर सन्यास आश्रमका पिठाधीश एवं नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष ज्ञानानन्द सरस्वतीजी महाराजले देवघाटको महिमा ठूलो रहेको भन्दै यहाँ करिब ५५० वर्ष पहिले चक्रवर्ती राजा मणिमुकुन्दले ध्यान गरेको बताउनुभयो । देवघाटमा रहेका विभिन्न मठमन्दिर र गुफाहरुले यहाँ देवताहरुको बास रहेको पुष्टि हुने भन्दै उहाँले कालीगण्डकीको तिरमा पाईने शालीग्राम विश्वमा अन्यत्र कहीँ नपाइने बताउनुभयो ।

देवघाटको चक्रवर्ती मन्दिरमा रहेको ॐ लेखिएको चक्रेश्वर शिला विश्वमै एक मात्र रहेको दाबी गर्दै उहाँले त्यसको उचित प्रसारप्रसार हुन सकेमा यहाँको अन्तर्राष्ट्रिय ख्याती हुने बताउनुभयो । देवघाटको महिमाको चर्चा गर्दा करिब ५०० वर्षअघि त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा एक माझीले चक्रैचक्र भएको एक कुर्म (कछुवा) शालीग्राम शिला फेरा पारे, जुन देवता र दानवद्वारा अमृत प्राप्तिका लागि समुन्द्र मन्थन गर्दा मदानीका रुपमा रहेको मन्दराचल पर्वतलाई डुब्नबाट बचाउन भगवान् विष्णुबाट कुर्म (कछुवा) रुप धारण गरिएको थियो । त्यही कछुवा आकारको शालिग्राम नै यही शिला भएको र उक्त शिलालाई भगवान् विष्णुको प्रतीक मानिने विश्वास रहिआएको छ ।

भगवान् विष्णुको प्रतीक शङ्ख, चक्र, वनमाला आदि सबै रहेको उक्त शिला गलेश्वर बाबाले मन्दिर बनाइ स्थापना गर्नुभएको थियो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई हिन्दूहरुको पवित्रभूमि र आस्थाको प्रतिकको रुपमा विकास गर्न सङ्घीय सरकारसँग हातेमालो गरी काम गरिने बताउनुभयो । मुग्लिङ–नारायणगढ खण्डको दासढुङ्गाबाट ६ किमि सडक हुँदै सवारीसाधनमा र चितवनको नारायणगढ नजिकैको आँपटारीबाट तीन किमि यात्रामा सवारीसाधन हुँदै त्रिशूली नदीको झोलुङ्गे पुल तरेर सजिलैसँग देवघाट पुग्न सकिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>