चितवन विशेष

विदेशको रोजगारी त्यागेर भरतपुरमा सैलुन चलाउँदै युवा

Banner

चितवन, पुस ३-

‘कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका सुनसरीका २५ वर्षका युवा कोशिसराज क्षेत्रीले ।

क्षेत्रीले भरतपुरको सिनर्जी रोड स्थित परिजात चोकमा कोशिस मेन्स सैलुन तथा एकेडेमी सञ्चालनमा ल्याएका छन् । १२ लाख लगानीमा उनले यो सैलुन सञ्चालनमा ल्याएका हुन् । बालकुमारी उच्च माविबाट व्यवस्थापन विषयमा १२ कक्षा उतीर्ण गरेपछि उनी कतार हानिए । कतारमा उनले २७ महिना काम गर्दा मासिक ४० हजार नेपाली रुपैयाँको दरले आम्दानी गरे । तर, उनलाई कतारको कमाइ र हाइफाइ भन्दा मातृभूमि नेपाल नै प्यारो लाग्यो । भरतपुरमा रहेका आफन्तहरुको सहयोगमा उनको जीवन यात्रा सुनसरीबाट चितवनसम्म मोडियो । विस्तारै उनलाई चितवनको वातावरणले आकर्षित गर्न थाल्यो ।

कोशिसको ठूली आमाको छोरा दिपक कोइरालाले उनलाई कपाल काट्ने सिप सिक्न सल्लाह दिए । जुन सिपकै कारणले उनी फेरि पैसा कमाउन कतार हानिनु परेन । क्षेत्रीले भने, ‘मनमा सैलुन सञ्चालन गर्ने सोच त आयो । तर पैसा थिएन । दाई दिपक कोइरालाले नै १२ लाख रुपैयाँ सहयोग गरेपछि मेरो सैलुन खोल्ने सपना पूरा भयो ।’

एकेडमीको रुपमा कपाल काट्ने प्रशिक्षण सुरु नभए पनि उनले अहिले दैनिक चारदेखि ६ हजार रुपैयाँसम्म कपाल काटेर नै कमाउन थालेका छन् । उनले २ ३ जनालाई रोजगार समेत दिएक छन् । उनको बुबा र आमा भने सुनसरीमा नै छन् । नारायणगढको लायन्सचोकमा कोइराला भेजिटेबल सप्लायर्समा सहयोगीको रुपमा काम सुरु गरेका कोशिस अहिले आफ्नो सैलुन र एकेडेमीका मालिक बनेका छन् । उनको सैलुनमा कपाल काट्ने आउनेहरु त्यहाँ प्राप्त सेवा सुविधाबाट दंग छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>