चितवन विशेष

पढाइ खर्च जुटाउन भरतपुरमा खाजा घर चलाउँदै कुमार

Banner

चितवन, पुस २

१८ वर्षीय कुमार विश्वकर्मा पेसाले विद्यार्थी हुन् । सप्तगण्डकी बहुमुखी क्याम्पसमा मानविकी संकायमा कक्षा १२ मा अध्ययरत उनी बच्चैदेखि अध्ययनमा लगनशील थिए । उच्च शिक्षा अध्ययन गर्ने अभिलाषामा उनी प्युठानको माण्डबी गाउँपालिकाबाट भरतपुर झरे । भरतपुरमा उनलाई बस्न र पढाइमा खर्च जुटाउन धौं धौं भयो त्यसपछि उनले खाजा घर सञ्चालन गर्ने सोच बनाए ।

सोच त पढाइ खर्च जुटाउनको लागि एउटा रेष्टुरेन्ट चलाउने भन्ने थियो तर उनीसँग लगानी गर्ने पैसा थिएन । उनको परिवारको आर्थिक अवस्था कमजोर भएकोले पनि लगानी गर्ने पैसा सजिलै उठ्ने सम्भावना थिएन । उनको बुबा भारतमा सामान्य नोकरी गर्थे भने आमा घरकै गृहिणी, दुई भाइ बालक नै थिए । कुमारले नारायणी अनलाइनलाई भने, ‘सप्तगण्डकी क्याम्पसमा सँगै पढ्ने साथीहरु र प्राध्यापकहरुसँग सापटी मागेर मैले लगानी गरे । खाजाघरमा झण्डै डेढ लाख रुपैयाँ लगानी भएको छ ।’

 

विश्वकर्माले बुधबार क्याम्पसमा आफूभन्दा अग्रज साथी सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष चन्द्रप्रकाश उपाध्यायलाई सो खाजाघरको उद्घाटन गर्न लगाए । उपाध्याय पनि जुम्लाको सिंजादेखि आएर काम गर्दे पढाइ खर्च जुटाउँदै स्नातकसम्मको अध्ययन पूरा गरेका विद्यार्थी हुन् । उनले खाजा घरको उद्घाटन गर्दै आफूभन्दा सानो भाईले यसरी मेहनत र लगनशिलताको साथमा पढाइ खर्च जुटाउन लागेकोमा निकै खुसी व्यक्त गरे । विश्वकर्मालाई काममा हौसला र सहयोग गर्ने पत्रकार तथा प्राध्यापक दिपेन्द्र अधिकारी पनि उद्घाटन कार्यक्रममा उपस्थित थिए । अधिकारीले पनि विश्वकर्माको मेहनत र लगनशिलताको तारिफ गरे । उनका कक्षामा सँगै पढ्ने साथीहरुले सरको प्रशंसाका शब्दहरुमा ताली बजाए ।

भरतपुरको मैयादेवी कन्या कलेज रोडमा उनले प्युठानी खाजा घर सञ्चालनमा ल्याएका छन् । बिहान १० बजेदेखि बेलुका १२ बजेसम्म उनी खाजा घरमा नै काम गर्छन् । उनले अध्ययनमा बचेको आफ्नो समय खाजा घरमा काम गरेर आफ्नो मेहनत र लगनशिलता देखाइरहेका छन् । उनको सालाखाल व्यापार दैनिक सात हजार रुपैयाँ सम्म हुने गर्छ । उनकै काम र मेहनतमा साथ दिने उनको भाइ र एकजना कामदार पनि उनले राखेका छन् । खाजाका सबै आइटमहरु खाजाघरमा उपलब्ध हुने विश्वकर्माले बताए । उनका साथीहरुले पनि उनको तारिफ गर्दै भने, ‘ अष्ट्रेलिया र अमेरिकामा गएर अरुको रेष्टुरेन्टमा भाडा माझ्नु भन्दा त आफ्नै देशमा केही काम गर्नु धेरै राम्रो । ’ खाजा घर खोलेपछि अहिले सप्तगण्डकी क्याम्पसमा कुमारको तारिफ गर्ने बढ्न थालेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>