चितवन विशेष

माडीको बघौडा अस्पताल २५ शैयाको बन्दै, नगरपालिकाको साढे चार करोड लगानी

Banner

प्रिती पोख्रेल

चितवन, पुस १-

झण्डै आधा माडी नगरबासीले स्वास्थ्य सेवा लिने गरेका माडीको बघौँडा अस्पताललाई २५ शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ ।

माडी नगरपालिकाद्वारा अस्पताललाई २५ शैयाको बनाउन प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएकोमा प्रदेश सरकार सकारात्मक देखिएपछि बघौडा अस्पतालको स्तरोन्नतिसमेत छिट्टै हुने सम्भावना बढेको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा आलोक कुमारले बताए ।

यसअघि विसं २०३४ सालमा स्वास्थ्य चौंकीको रुपमा स्थापना भई आफ्नो सेवा सुरु गरेको अस्पताललाई विसं २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति गरिएको थियोे भने विसं २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा १५ शैयाको बघौडा अस्पतालको रुपमा विकास गरिको हो । स्वास्थ्य पूर्वाधारको विकासलाई प्राथामिकतामा पारेको माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख लगानी गरेको माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए । भिडियो एक्सरेदेखि डिजिटल एक्सरे, मेसिनरी,औजार, दक्ष जनशक्तिको व्यवस्थापनमा उक्त बराबरको रकम खर्चि दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उनले बताएका हुन् ।

एमबीबीएस डाक्टरहरुद्वारा उपचार हुने भएपछि बिरामीको पहिलो रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनको लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ ।  अस्पतालमा अहिले पाँच जना एमबीबीएस डाक्टर, एक जना एमडीजीपी विशेषज्ञ चिकित्सक, एक जना डेन्टल सर्जनसहित सात डाक्टर रहेका बघौँडा अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिए । यस्तै, स्वास्थ्य सहायक एचए तीन जना, अहेब आठ जना, स्टाफ नर्स तीन जना, फार्मेसी सहायक एक जना, ल्याब असिस्टेन्ड चार जना, अनमी पाँच जना, टिकट काउन्टर तीन जना र कार्यालय सहयोगी सात जना, नगरद्वारा करार सम्झौतामा इलेक्ट्रिसियन एक जना र एम्बुलेन्स ड्राइभरसमेत गरेर ४३ जना कर्मचारी रहेका छन् ।

भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यही उपलब्ध छन् महतोले भने । ठूलो संख्याको जनशक्तिले नगरबासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको उनको भनाइ छ । ‘भौतिक अभाव र प्राविधिक अपुर्णता यहाँको सेवामा चुनौती नै छ’, उनले भने । माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताएका छन् । अस्पतालको फोहोर व्यवस्थापनको लागि दुई कोठे भवन निर्माण गरिएको भए पनि भौतिक अभावले अन्य कामका लागि प्रयोग गरिएको छ जसले गर्दा अस्पताललाई फोहोर व्यवस्थापनमा समेत चुनौती छ ।

अस्पतालमा आव २०७४\७५ मा २० हजार ९०३ जनाले स्वास्थ्य जाँच गराएका थिए । गत आर्थिक वर्ष २०७५–७६ मा २७ हजार १९५ जनाले सो सेवा लिए भने चालु आर्थिक वर्ष २०७६–७७ को कात्तिक मसान्तर सम्म ११ हजार ३०५ जनाले स्वास्थ्य जाँच गराएका छन् । यता, आव २०७४–७५ मा २७० जनाले सुत्केरी सेवा लिएका थिए । यस्तै, आव २०७५–७६ मा अस्पतालमा २६९ जना तथा चालु आव २०७६–७७ को कात्तिक अन्तिमसम्म १०० जनालाई अस्पतालमा सुत्केरी सेवा लिएका छन् । माडी नगर जनस्वास्थ्य शाखाको योजनाअन्र्तगत गत दुई वर्षमा माडी वडा नं ५ र वडा नं ७ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरियो । अन्य वडाहरु पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा समावेश गर्न गृहकार्य भइरहेको छ ।

अस्पतालमै सर्प दशंको उपचार

सर्प दंशको समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने स्थानीयको बाध्यता अब भने हट्ने भएको छ ।

प्रदेश सरकारले एन्टीस्नेक भेनम राख्न बघौडा अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । मेडिकल सुपरिटेन्डेण्ड डा आलोक कुमारका अनुसार औषधि स्टोर गरी राख्न रेफ्रिजेटर र अन्य प्राविधिक असहजताका कारण ल्याउन सकिएको छैन । सरकारले ल्याउन परिपत्र गरीसकेकाले अस्पतालको आन्तरिक समस्या सामाधान भए लगतै एन्टि स्नेक भेनम ल्याइनेछ । यससँगै सर्षदंशका लक्षणका आधारमा यसको प्रयोग गरिने छ ।

अप्रेसन सञ्चालनमा समस्या

नगरपालिका समेतको विशेष पहलमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्त सञ्चार केन्द्र स्थापना गरिने योजना बनिसकेको छ । केन्द्रको स्थापनापछि मात्र अप्रेसन थिएटर सञ्चालन गरिने अस्पतालले जनाएको छ । स्थानीयलाई अप्रेसनसहितको सेवा दिन माडीमा रक्त सञ्चार केन्द्र पहिलो आवश्यकता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>