चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा शैक्षिक सुधारको माग राख्दै अनेरास्ववियुद्वारा ध्यानाकर्षण

चितवन, पुस १-
विभिन्न ३६ बुँदे शैक्षिक सुधारको माग राख्दै अनेरास्ववियु सप्तगण्डकी क्याम्पस इकाइले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
साबिक नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का सप्तगण्डकी क्याम्पस इकाइ अध्यक्ष हरि आचार्यले क्याम्पस प्रमुख मणिराज महतोलाई ध्यानकर्षण गराएका हुन् । अनेरास्ववियुले क्याम्पसको शैक्षिक वातावरण निर्माण र शैक्षिक सुधारका लागि समयमा क्याम्पसमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, यथासीघ्र क्याम्पस सभाको सञ्चालन गर्नुपर्ने, समयसमयमा विद्यार्थीहरुलाई गेष्ट लेक्चर, फिल्ड भिजिटलगायतको व्यवस्था हुनुपर्ने मागपत्रमा उल्लेख छ । त्यसैगरी मागमा क्याम्पसमा पर्याप्त व्यवस्थित ट्वाइलेटको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा पर्याप्त सीसी क्यामरा जडान गर्नुपर्ने, एक वर्षमा कम्तिमा पाँचवटा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेलगायतका विषयहरु पनि समावेश छन् । एक महिनामा विद्यार्थीको माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने पनि अनेरास्ववियुले जनाएको छ । क्याम्पस प्रमुख महतोको ध्यानाकर्षण गराउँदा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु कृष्णप्रसाद घिमिरे, नारायण रेग्मी र खिमलाल दाहालको उपस्थिति रहेको थियो ।
























