चितवन विशेष
चितवनमा नारायण गोपालको सम्झना, कला मन्दिरमा गुञ्जिए दर्जन बढी गीत

चितवन, पुस १ –
शुक्रबारको पानीले आजकल चितवनमा चिसो ह्वात्तै बढेको छ । तर, सोमबार साँझ नारायणगढ स्थित नारायणी कला मन्दिरको माहोललाई भने चिसोले खासै असर गरेन । चिसो बढे पनि हलमा युवा पुस्ता भन्दा पाका उमेरका संगीत पारखीहरुको संख्या उल्लेख्य थियो । अघिपछि आयोजना हुने कार्यक्रममा कोलाहल बन्ने कला मन्दिर सोमबार शान्त र मन्त्रमुग्ध थियो । कला मन्दिरले स्वर सम्राट नारायणगोपालको २९ औं स्मृतिमा गरेको ‘नारायणगोपाल स्मृति साँझ’ ले गर्दा कलामन्दिरको प्रेक्षालय खचाखच भरियो । साँझ पख गुञ्जिएको गोपालका कालजयी गीतसंगीतले कला मन्दिरको माहोल तात्यो ।
कार्यक्रमको प्रारम्भमा गायक मधु लामाले ‘प्रियसीका यादहरु…..’ गीतबाट गरे । नारायणगोपालको गीत सुन्न टाढा टाढादेखि जम्मा भएका दर्शकहरु गीत सुन्दा मन्त्र मुग्ध बने । शान्त बनेको वातावरणलाई सांगीतिक माहोल प्रदान गर्न गायक महेन्द्र बराल स्टेजमा देखा परे । उनले राममान तुषितको शब्द र गोपाल योञ्जनको संगीत रहेको ‘मैले पुण्य मन पराए…..’ गीत गाउँदा दर्शक ताली बजाउँदै गीतमा रमाइरहेका थिए । त्यस्तै प्रविण श्रेष्ठले ‘गोपाल योञ्जनको शव्द संगीत रहेको ‘तिम्रो जस्तो मुटु……’, उदय श्रेष्ठले ‘यो तिम्रो मन…..विश्व प्रधानले ‘मेरो सबै रात अब….’ गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गराए ।
उत्ता कलाकार शिव कँडेलले गोपाल योञ्जनको ‘मलाई माफ गरिदेऊ …..’ गीत गाउँदा दर्शकले वान्स मोर भनिरहेका थिए । कँडेल लगतै ‘एक्लै बस्दा सधै मलाई …..’ बोलको गीत लिएर आएकी बीना सेन्चुरीले दर्शकको मन जितिन् । दर्शकले खचाखच भरिएको यस कला मन्दिरको हलमा पाका मान्छेहरु पनि क्यामरा समाएर फोटो खिचिरहेका थिए । यसले प्रष्टै देखाउँदथ्यो नारायणगोपाल प्रतिको सम्मान । सेन्चुरीपछि नारायणगोपाल साँझमा नियमित गाउँदै आएका संगीतकार एवम् गायक सहन प्रधान स्टेजमा देखिए । प्रधानले निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको ‘पर्खि बसे आउला भनि……गीत गाएर दर्शकलाई सांगीतिक मज्जा दिलाए ।
‘सबिना क्षेत्रीले ‘गाजलु ती ठूलाठूला आँखा…………’, साजन जोशीले, मलाई नसोध….’बोलको गीत गाउँदा दशर्कले हुटिङ गरिरहेका थिए । कार्यक्रमको अन्तिमा गायक प्रविण श्रेष्ठ किरण खरेलको शब्द र तारादेवी, नारायणगोपाल र नातिकाजीको संगीत रहेको ‘लुकँु लुकुँ लाग्यो मलाई….’ बोलको गीत लिएर स्टेजमा आए । उनलाई बिना सेन्चुरीले साथ दिएकी थिइन् । कला मन्दिरले २०५८ सालदेखि प्रत्येक वर्ष नारायणगोपालको स्मृतिमा सांगीतिक साँझको आयोजना गर्दै आएको नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रधानले जानकारी दिए । उनका अनुसार राष्ट्रिय र स्थानीय कलाकारको उपस्थितिमा चितवनमा नारायणगोपाललाई गीत गाएर सम्झिने गरिन्छ ।
























