भरतपुर
आजदेखि भरतपुरको तरकारी बजारमा विषादी परीक्षण हुने,प्रयोगशाला सञ्चालनमा आयो

चितवन,पुस १-
चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । भरतपुर २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको आज (मंगलबार) प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे ।
बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण आजैदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबिपिआर’ भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । उद्घाटनको दिनमा लौकामा गरिएको परिक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिए ।

प्रदेश सरकारले चितवनमा जस्तै हेटौंडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरिएको छ । पाँच स्थानका लागि एक करोड ८० लाख रुपैंयाको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगन्द्र कुमार कार्कीले जानकारी दिए ।
























