अर्थ

चितवनमा विदेशी लगानीकर्ताहरुको आकर्षण, ९ ठूला उद्योगमा झण्डै ३०० लाई रोजगारी

Banner

मधुसूदन दवाडी,

चितवन, मंसिर ३०-

चितवनमा विदेशी लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा विभिन्न देशका नौ ठूला उद्योग चितवनमा दर्ता भएर सञ्चालन हुने तयारी गर्दै छन् ।

यसअघि चितवनमा विदेशी लगानीका ९६ वटा उद्योग दर्ता भएकोमा यस आर्थिक वर्षमा विदेशी लगानीका ९ ठूला उद्योग दर्ता भएका हुन् । उद्योग विभागको तथ्यांकअनुसार यी उद्योग सञ्चालनमा आएपछि चितवनमा झण्डै ३०० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । चितवनमा स्थापना हुन लागेका विदेशी कम्पनीहरुमा चीन, स्विजरल्याण्ड, दक्षिण कोरिया, जापानलगायत रहेका छन् । यस्ता कम्पनीहरुले कृषिदेखि सूचना प्रविधिलाई क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । विदेशी व्यवसायीको आकर्षण चितवनमा बढ्दै जानुलाई चितवनका व्यवसायीहरुले पनि सकारात्मक रुपमा लिएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले विदेशी उद्योगहरुको लगानी बढ्नु सकारात्मक भएको बताए । उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न यस्ता ठूला उद्योगहरुले सकारात्मक भूमिका खेल्न सक्छन् । देशको ग्राहस्थ उत्पादनमा पनि यस्ता उद्योगहरुको सकारात्मक भूमिका हुन्छ ।’ उद्योग वाणिज्य संघले गरेको आर्थिक गणनामा प्रदेश ३ मा काठमाडौँपछि चितवनमा आर्थिक वातावरण राम्रो देखिएको उपाध्यक्ष श्रेष्ठले बताए । रोजगारीको वृद्धि र विदेशी मुद्राको सञ्चयमा यस्ता ठूलो उद्योगले सकारात्मक भूमिका खेल्ने उनको विचार थियो ।

त्यसैगरी मनपरी ढंगले विदेशी लगानी भित्र्याउँदा स्वदेशी उद्योग तहसनहस हुन सक्ने पनि कतिपय व्यवसायीको विचार छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले प्रारम्भिक अवस्थामा यस्ता उद्योगहरु आएको राम्रो भए पनि दीर्घकालिनरुपमा औद्योगिक नीति बनाएर अनुगमन र नियन्त्रण गर्नुपर्ने विचार राखे । जथाभावी लगानी गर्न दिएमा पोल्ट्री उद्योगकै हालत हुन सक्ने उनले सचेत गराए । तर, नेपाल भर्खर आर्थिक विकासकै चरणमा रहेकोले रोजगारीको अवसरहरु बढाउन यस्ता उद्योगहरुमा विदेशी लगानी बढ्नु सकारात्मक रहेको उनले बताए । अध्यक्ष दुवाडीले प्रविधिबारे जानकारी लिनको लागि पनि विदेशी उद्योगहरुको संख्या बढ्नु आवश्यक छ ।

कुन कुन उद्योग खुल्दै छन् चितवनमा ?

चीनको ग्रेटवाल इलेक्ट्रिक भेइकल प्रालिले ३५ करोडको लगानीमा मोटरसाइकल तथा स्कुटरको उत्पादन गर्ने तयारी गरेको छ । यस कम्पनीका अनुसार कम्पनी सञ्चालनमा आएपछि ४४ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।  स्विजरल्याण्डको नेक्सस फार्मर कम्पनीले चितवनमा १२ करोड ४५ लाख रुपैयाँ बढीको लगानी गर्दै छ । चितवनको दुई ठाउँमा सञ्चालनमा आउने यो उद्योग सञ्चालनमा आएपछि झण्डै ४२ जनाले रोजगारी पाउँनेछन् । यस कम्पनीमा ४९ प्रतिशत लगानी चितवनकै उद्योगीहरुको रहने छ ।

त्यसैगरी दक्षिण कोरियाको त्रिएक फेसन गार्मेन्ट प्रालिले चितवनमा ४९ लाख ९९ हजार लगानी गर्दै छ । २१ जनालाई प्रत्यक्ष रोजागारी दिने यस कम्पनीको योजना छ । चितवन गर्मी ठाउँ भएकोले जुसको खपत बढ्ने सम्भावना देखेर चीनको जिङनिङ वेइजिया बेभरेज कम्पनीले १४ करोड ८० लाख लगानीमा जुसको उत्पादन गर्ने लक्ष्य राखेको छ । यस कम्पनी पूर्णरुपमा सञ्चालनमा आएपछि ५० जना बढीले प्रत्यक्ष रोजगारी पाउँनेछन् ।

त्यस्तै जापानका लगानीकर्ताहरुले पनि चितवनमा लगानी गर्ने तयारी गर्दै छन् । उद्योग विभागका अनुसार जापानको एनआरयस ग्लोबल बिजिनेस नेटवर्क प्रालिले ५२ लाख लगानीमा फलफूलको उत्पादन गर्ने तयारी गरेको छ । यो उद्योग सञ्चालनमा आएपछि १३ जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीको योजनामा उल्लेख छ । उत्पादनको क्षेत्र माात्र नभएर होटल तथा रेष्टुरेन्ट क्षेत्रमा पनि विदेशी लगानीकर्ताहरुले चासो देखाएका छन् । चीनको लगानीमा रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी हुँदै छ । जसले ३१ जनालाई रोजगारी दिने तयारी गरेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । चितवनमा विदेशी लगानीमा मोबाइल कम्पनी र मर्मत केन्द्र पनि स्थापना हुँदै छ । भिभो मोबाइलले चार करोड ५० लाख लगानीमा कम्पनी र एक करोड लगानीमा मर्मत सेन्टर स्थापना गर्दे छ । जुन सञ्चालनमा आएपछि ७० जनाले प्रत्यक्ष रोजगारी पाउने योजना छ । यसअघि ९६ वटा विदेशी कम्पनीहरुले चितवनमा लगानीको अनुमति पाइसकेकोमा गत आर्थिक वर्षमा ९ वटा उद्योग थपिएका छन् । यसले चितवनसहित देशकै आर्थिक विकासमा सकारात्मक सुधार ल्याउने व्यवसायीहरुको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>