विजनेश

चितवनमा कुखुराको मासु प्रशोधन र बिक्री केन्द्र स्थापना हुने

Banner

नारायण अधिकारी

चितवन, मङ्सिर ३०-

अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो ।

नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ । सोही स्थानमा ठूलो चिस्यान केन्द्र तयार गरिने छ ।
यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र सोहीबाट बन्ने परिकारको बिक्री केन्द्र सञ्चालन गर्न लागिएको पोख्रेलले जानकारी दिए । “यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ ।”उनले भने ।
समितिले सहकारी दर्ता र मासु प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने काम गरिरहेको जनाएको छ । सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ । ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन् ।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन् । हाल चल्लाको बजार मूल्य रु ३० रहेको छ । यसको लागत मूल्य रु ५५ पर्ने व्यवसायी बताउँछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>