चितवन विशेष

भरतपुरको विजय नगरमा महिला हिंसाबारे सचेतना

Banner

चितवन, मंसिर २४-

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला महिला पैरवी मञ्च चितवनले मंगलबार भरतपुर–१६ विजयनगरमा सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागीलाई जिल्ला महिला पैरवी मञ्चकी सूर्यवदना हमालले प्रशिक्षण दिँदै हिंसाका विविध प्रकारबारे जानकारी गराएकी थिइन् । सो क्रममा उनले लैंगिक हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियानको पृष्ठभूमि र नेपालको सन्दर्भमा यसको आवश्यकताका विषयमा चर्चा गरिन् ।  ‘महिला र पुरुष दुवै हिंसामा परेका हुन सक्छन्,’ उनले भनिन्,‘दिवसको उद्देश्य हिंसा रहित समाजको विकास गराउनु हो ।’

कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सहसंयोजक संगिता भट्टराईले महिला र पुरुषबीचको विभेदले निम्त्याएका आपराधिक घटनाबारे जानकारी गराइन् । महिलाको हकमा बनेका कानुनको कार्यान्वयन हुन नसक्दा महिलाहरु प्रताडित भइराख्नुपर्ने अवस्था रहेको जीकिर गर्दै उनले भनिन् , ‘अब पनि सचेत भई अघि नबढे हाम्रो अवस्थामा सुधार आउने छैन ।’ भरतपुर–१६ को विजयनगर देवीचोकमा आयोजना गरिएको कार्यक्रममा ३६ जना महिला सहभागी थिए । उनीहरुले आफ्नो ठाउँमा पहिलोपटक लैंगिक हिंसासम्बन्धी सचेतना कार्यक्रम भएको भन्दै जिल्ला महिला पैरवी मञ्चलाई आभार व्यक्त गरे । जिल्ला महिला पैरवी मञ्चले विस्तार गरेको दिदिबहिनी पैरवी मञ्चले कार्यक्रमको पहल गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१६ का वडा अध्यक्ष अमृतराज हमालले आवश्यकता र मागको आधारमा आगामी दिनमा महिला लक्षित कार्यक्रमलाई प्रथमिकतामा राख्ने बताए । जिल्ला महिला पैरवी मञ्चका अध्यक्ष शकुन्तला शाही ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा दिदी बहिनी पैरवी मञ्चका अध्यक्ष सावित्री अधिकारीले संस्थाको उद्देश्यबारे जानकारी गराइन् । कार्यक्रममा भरतपुर १८ का वडा सदस्य ज्योत्सना अधिकारी, रेडक्रस चितवन मंगलपुर शाखाका सचिव धर्म दवाडी, सेतीदेवी सामुदायिक वनका सचिव दुर्गा सोडारी, क्रियाशील पत्रकार महिला चितवनकी अध्यक्ष प्रमिता ढकालको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>