अर्थ

चितवनमा करोडौँ लगानीमा १५ ठूला उद्योग खुल्दै, झण्डै ६०० जनालाई रोजगारी दिने तयारी

Banner

मधुसूदन दवाडी

चितवन, मंसिर २३

आर्थिक वर्ष २०७५\७६ मा चितवनमा स्थापना हुने गरी १५ वटा ठूला उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार यी उद्योगहरु सञ्चालनमा आएपछि ५५६ जनाले रोजगारी पाउने छन् । देशभरमा सबैभन्दा धेरै उद्योग प्रदेश ३ मा दर्ता भएका छन् जसमा लगानीकर्ताको रोजाइमा काठमाडौँपछि चितवन नै पर्ने गरेको देखिन्छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पछिल्लो समयमा स्थिर राजनीतिक वातावरण भएकोले पनि चितवनमा उद्योगहरु खुल्ने उपयुक्त वातावरण बन्दै गएको बताए । उनले भने, ‘पछिल्लो समयमा उद्यमशील बन्नका लागि विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन भएकोले पनि मानिसहरु उद्योग खोल्नमा आकर्षित भएका छन् । ’ अध्यक्ष प्रधानले हाम्रो अर्थतन्त्र ९२ प्रतिशत आयातमा निर्भर रहेकोले पनि आयातलाई विस्थापित गर्न उत्पादन क्षेत्रमा लगानी बढ्नुपर्ने बताए । उनले पछिल्लो समयमा युवाहरुको विदेश पलायन हुने क्रम केही घट्नु पनि सकारात्मक पक्ष भएको विचार राखे । उनले भने, ‘चितवनका युवाहरुमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावना पलाउनु पनि निकै राम्रो विषय हो ।’

चितवनमा स्थापना हुने उद्योगहरु धेरै भरतपुरमा खुल्दै छन् भने केही कालिका, खैरहनी र माडीमा पनि खुल्ने तयारीमा रहेको उद्योग विभागबाट प्रकाशित वार्षिक प्रतिवेदनमा उल्लेख छ । १० करोडभन्दा माथिका ठूला उद्योगहरु उद्योग विभागमा दर्ता भए पनि ती भन्दा साना उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गरेका छन् । त्यस्ता उद्योगहरु संख्या चितवनमा अझ धेरै छन् । पछिल्लो अवस्थामा चितवनमा लगानीको वातावरण बन्दै गएको स्वयं उद्योगीहरु पनि बताउँछन् । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले बन्द, हडतालको अवस्था घट्दै गएकोले पनि लगानीको वातावरण बन्दै गएको बताए । उनले भने, ‘चितवनमा प्रदर्शनी केन्द्र बन्नु पनि लगानीको लागि सकारात्मक संकेत हो ।’ उपाध्यक्ष पौडेलले अन्य जिल्लाको तुलनामा चितवनमा चन्दा आतंक कम भएकोले पनि चितवन लगानीकर्ताहरुको उचित गन्तव्य बन्न थालेको विचार राखे । अर्काेतर्फ चितवनमा बसाइसराइ गरेर आउनेहरुको संख्या धेरै भएकोले पनि केही गर्न चाहनेहरु बढेका छन् जुन आफैमा सकारात्मक भएको उपाध्यक्ष पौडेलले बताए ।

कहाँ खुल्दै छन् कुन उद्योग ?

कालिका नगरपालिका वडा नम्बर ८ मा ३० करोडको लगानीमा वाईआर टायर उद्योग स्थापना हुने तयारी गरेको छ जसले ५२ जनालाई रोजगारी दिने योजना बनाएको छ । जुन उद्योग बनेपछि सयौं संख्यामा कालिकाका नागरिकले अप्रत्यक्ष रोजगारी पाउने छन् । भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्ज क्षेत्रमा २५ करोडको लगानीमा नेक्सस फामर्स कम्पनी दर्ता भएको छ जसले २१ जनालाई प्रत्यक्ष रोजगारी दिने तयारी गरेको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा त्रिएल फेसन गार्मेन्ट प्रालिको नाममा कपडा उद्योग खुल्ने उद्योग विभागले जनाएको छ । ५२ लाखको लगानीमा खुल्ने यस उद्योगले २९ जनालाई रोजगारी दिने तयारी गरेको छ ।  भरतपुरकै वडा नम्बर ५ मा चार करोड ८० लाखको लगानीमा जिङ्गनिङ्ग बेभरेज कम्पनी खुल्दै छ । जसको लक्ष्य ३० जनालाई प्रत्यक्ष रोजगारी दिने भन्ने छ । शहरी क्षेत्रमा मात्र नभएर उद्योगहरु ग्रामीण क्षेत्रतिर पनि विस्तार हुँदै जाने तयारी गर्दै छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा १३ करोड ७० लाखको लगानीमा जगन्नाथ ग्रुप अफ इण्डस्ट्रिजको नाममा पेन्ट उद्योग खुल्दै छ । जसले ५२ जनालाई प्रत्यक्ष रोजगारी दिने तयारी थालेको छ । यसबाहेक भरतपुरको वडा नम्बर ५ मा टियान यु इन्टरनेशनल प्रालि नामको दाना उद्योग, माडी नगरपालिका वडा नम्बर १२ मा नेक्सस फार्मर कम्पनी प्रालि, खैरहनी नगरपालिकाको वडा नम्बर १० मा एनआरएस ग्लोबल बिजनेस नेटवर्क प्रालि, भरतपुर वडा नम्बर ३ मा भिभो मोबाइल नेपाल प्रालि उद्योग विभागमा दर्ता भएर भौतिक पूर्वाधार निर्माणको तयारीमा छन् । टियान यू दाना उद्योग २४ करोड ५५ लाख लगानीमा खुल्न लागेको उद्योग हो यसले ४१ जनालाई रोजगारी दिने बताएको छ ।

त्यस्तै माडीमा ९० लाख लगानीमा खुल्ने नेक्सस तरकारी र फलफूल उद्योगले २१ जनालाई रोजगारी दिने जनाएको छ । खैरहनीमा स्थापना हुने फलफूल तथा तरकारी उद्योग एनआरएस ग्लोबलले ५२ लाख लगानीमा १३ जनालाई रोजगारी दिने तयारी गर्दैछ । त्यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर ३ को भिभो मोबाइल कम्पनीले चार करोड ५० लाख लगानी गरेर १५ जनालाई रोजगारी दिने बताएको छ । यसरी चितवनमा यही गतिमा उद्योग दर्ता हुँदै जाने हो भने चितवन औद्योगिक शहरमा चिनिन समय लाग्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>