चितवन विशेष
भारतविरुद्ध चितवनमा राष्ट्रिय जनमोर्चाको प्रर्दशन

चितवन, मंसिर २० –
नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा चितवनले आज (शुक्रवार) भरतपुरमा प्रर्दशन गरेको छ । भारतले नेपाली सीमा लिपुलेक, कालापानीलगायतको क्षेत्रमा गरेको अतिक्रमणको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले चौविसकोठीमा विरोध प्रदर्शन गरेको हो ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर’ भन्ने मूल नाराका साथ जनमोर्चाले देसव्यापी रुपमा विरोधका कार्यक्रम गरिरहेको छ । राष्ट्रियताको मुद्दालाई अन्तराष्ट्रियकरण गर्न जनस्तरबाटै राज्यलाई दबाव सिर्जना गर्नका लागि विरोध प्रद्र्धशन गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्मर पुरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरीले कालापानी क्षेत्र कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले छिट्टै पहल कदमी चाल्नुपर्ने बताउनुभयो । भुमि रक्षा गर्नका लागि राजनीति नगरी सवै नागरिक समाज सडकमा आउनुपर्ने उहाँको धारणा छ ।
नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेघराज ढकालले भारतीय विरतारबादका विरुद्ध निरन्तर आन्दोलनमा लाग्न आवश्यक रहेको बताउनु भएको छ । विरोध सभामा कालापानी, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड, मिचिएको भूमि फिर्ता गर, राष्ट्रियताको रक्षा गरौँ, हिमाल पहाड तराई कोही छैन पराई, जस्ता नारासमेत लगाएका थिए ।
गत कात्तिक १७ गते भारत सरकारले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भूभागलाई सामेल गरी आफ्नो नक्सा जारी गरेको छ । जसको विरोधमा राष्ट्रिय जनमोर्चाले देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।
























