चितवन विशेष
लाजले रोग लुकाउँछन् ग्रामिण क्षेत्रका महिलाहरु

चितवन,मंसिर २०-
माडी नगरपालिका ७ दिवानगरमा बुधबार स्वास्थ्य शिविर बस्ने थाहा पाएपछि गीता सुवेदी पनि स्वास्थ्य परिक्षण गर्न आइन् । हातखुट्टा झमझमाउने र दाँतको उपचार गर्न आएकी सुवेदीलाई पाठेघर परीक्षण गराउने इच्छा नै थिएन ।
गाउँका दिदीबहिनीको करकापमा उनले गाउँमै आएको शिविरमा पाठेघरको क्यान्सर स्क्रिनिङ परीक्षण गर्न राजि भइन् । पाठेघरको परीक्षण गर्न लाज मानेकी ३९ वर्षीय सुवेदीको पाठेघर खसेको स्वास्थ्यकर्मीले पत्ता लगाए । तर, पाठेघर खसेको अरुले थाहा पाउँछन् कि भन्ने चिन्ता उनीमा अझै रहेको छ ।
अन्य उपचार गर्न अस्पताल गए पनि पाठेघरको समस्या लिएर अहिलेसम्म उनी पुगेकी छैनन् । ‘चिसोमा हातखुट्टटा झमझमाउँछ । डाढ कम्मर दुख्छ । यसका लागि भरतपुरसम्म जाने गरेकी छु’ लजाउँदै उनले भनिन्, ‘यसअघि गाउँमा स्वास्थ्य शिविर आउँदा पनि परिक्षण गराइन् ।’ समाजको लाजसँगै गरिबी र स्वास्थ्य सेवामा पहुँच नभएका कारण माडी ७ दिवानगरका अधिकांश पाठेघर खसेका महिलाहरु अझै पनि आफ्नो रोग लुकाएर बस्न बाध्य छन् ।
पाठेघर, स्तन क्यान्सर तथा आँखा जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको हो । माडी नगरपालिका ७ दिवानगरको राष्ट्रिय आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरमा एकै गाउँका १८ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । ‘बुधबार हामीले शिविर सञ्चालन गरेर ६५ जना महिलाको स्तन तथा पाठेघरको मुखको जाँच ग¥यौँ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्या पाठकले भनिन्, ‘२८ प्रतिशतमा पाठेघर खस्ने समस्या देखिएको छ ।’
परिक्षण गराएका महिलामध्ये पहिलो, दोस्रो र तेस्रो डिग्रीको पाठेघर खस्ने समस्या रहेको उनले बताइन् । एक जनामा क्यान्सरको लक्षण समेत देखा परेको उनले जानकारी दिइन् । ‘पाठेघरको ह्युमान प्याप्लोमा भाईरस क्याच आउट गर्न आएका थियौँ । त्यो एक जनामा भेटिएको छ’ पाठकले भनिन्, ‘क्यान्सरको लक्षण नदेखिए पनि पाठेघरको समस्या बढी नै छ । यसका लागि पाठेघरको मुखको ब्यायम गर्न हामीले भनेका छौँ ।’
पाठेघरको तेस्रो डिग्री तल आउँदा एकदमै कठिने हुने भएकाले सो अवस्थामा स्वास्थ्य संस्थामा गएर सिलिकन रिङ प्रयोग गर्न उनले आग्रह गरिन् । वजनदार वस्तु नउठाउन महिलालाई उनले सुझाव समेत दिइन् । ३ र २ डिग्रीको पाठेघर खस्ने समस्या रहेको बिरामीलाई ‘सिलिकोन रिङ पेसरी’ राख्ने तरिका तथा परामर्श सेवा पनि प्रदान गरिएको छ ।
राज्यले सिलिकोन रिङ पेसरी स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गर्छ । तर, पनि महिलाहरु लाजका कारण पाठेघरको समस्या बताउन चाहँदैनन् । पाठेघर खस्ने मुख्य कारण ब्याप्त बाल विवाह, जन्मान्तर थोरै राखिनु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी तथा जनचेतनाका कमीका कारणले समस्या विकराल रुप लिएको उनले बताइन् ।
महिला र परिवारका अन्य सदस्यले महिलाको स्वास्थ्यमा ख्याल नगर्दा पाठेघर खस्ने समस्या ठूलो हुँदै गएको क्यान्सर अस्पतालकी नर्स तारा दवाडीले जानकारी दिइन् । स्वास्थ्यकर्मीले पनि गर्भ परीक्षण गर्दा पाठेघरको ब्यायम सम्वन्धि जानकारी दिएको उनीहरुको भनाई छ । सुत्केरी भएको समयमा पर्याप्त आराम नगर्नु, धेरै बच्चा जन्माउने लगायतका कारणले महिलामा पाठेघर खस्ने समस्या हुन्छ ।
चितवन जिल्लामा प्रत्येक वर्ष चार सय महिलाको पाठेघरको अप्रेसन गरिने स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य नर्सिङ अधिकृत नन्दकली चापागाईले जानकारी दिइन् । भरतपुर अस्पतालमा पाठेघर खसेको महिलाको निःशुल्क अप्रेसन हुने गरेको छ । विश्व स्तरमै महिलाहरुमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हो । पाठेघरको क्यान्सर ७० प्रतिशत हुने गरेको छ । दोस्रो स्तन क्यान्सर हो । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान छ ।
विश्व स्वास्थ्य सङ्ठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुन्छ । जसमध्ये नेपाल लगायत ८५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुककै महिला छन् । यसबाट हुने मृत्युदर नेपाललगायत विकाशोन्मुख मुलुकका महिला बढी छन् ।
नेपालमा हालै गरिएको एक अध्ययन अनुसार वर्षेनी करिब २ हजार महिलाले पाठेघरको सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन् । स्पन्दन नेपालको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा आँखाको जाँच एक सय ५७, पाठेघरको ६५ र मुखको क्यान्सर परीक्षण ७० जनाले गराएका थिए । त्यसमध्ये २१ जनामा मोतियाबिन्दु देखिएको थियो ।
त्यस्तै शिविरमा परीक्षण गराएका मध्ये ४० जनाले चस्मा लगाउनुपर्ने अवस्था रहेको भरतपुर आँखा अस्पतालका नेत्र साहायक सुभाष सापकोटाले जानकारी दिए ।
























