चितवन विशेष
चितवनसहित चार वटा मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिष्कार

चितवन, मंसिर १८–
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले वार्षिक परीक्षा नै बहिष्कार गरेका छन् ।
प्यारामेडिक्समा अध्ययनरत केही विद्यार्थीहरुले बुधबार भएको बोर्डको वार्षिक परीक्षा बहिष्कार गरेका हुन् । वार्षिक परीक्षामा कलेजबाट दुई जना विद्यार्थीले सहभागि भएको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार परीक्षामा १५ जना विद्यार्थी सहभागि हुनुपर्ने थियो । बहिष्कार गर्ने विद्यार्थीहरुमा अधिकांशले परीक्षा फारम समेत नभरेको मेडिकल कलेजले जनाएको छ ।
आन्दोलनरत विद्यार्थीहरुले बुधबार परीक्षा दिनुको साटो चितवन मेडिकल अलेज अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरुले बिहीबार हुने एमबीबीएस परीक्षाको प्रवेश पत्र समेत जलाएका थिए । उनीहरुले मेडिकल कलेजको मुख्य गेटमा कालो व्यानर टाँगेर कलेज प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका थिए । विद्यार्थीहरुले सरकारसंग भएको सम्झौता खारेज गर्न माग समेत गरेका छन् ।

एमबीबीएस, बीडीएस बाहेक अन्य संकायको विषयमा सरकारले कुनै समस्या समाधानको प्रयास समेत नगरेकाले आन्दोलन जारी राख्नु परेको विद्यार्थी मान्यता थापाले बताइन् । ‘हाम्रो माग सुनुवाई नै भएन, कलेज प्रशासन र सरकारलाई दवाब दिन प्रवेश परीक्षा बहिष्कार गरेका हौं’–थापाले भनिन् । चितवनमा मात्र नभइ अन्य मेडिकल कलेजका विद्यार्थीहरुले समेत वार्षिक परीक्षा बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजसंगै युनिभर्सल मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् । बुधबार पारामेडिक्स संकायको परीक्षा भएको थियो भने बिहीबारबाट बीडीएस, एमबीबीएसलगायतको परीक्षा सुरु हुँदैछ । यी परीक्षा पनि बहिष्कार गर्ने विद्यार्थीहरुले जनाएका छन् ।
सरकार र मेडिकल कलेज संचालकबीच दुई बुँदे सहमति भए पनि विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले मेडिकल माफियालाई प्रसय हुने गरी सरकारले सहमति गरेकोले खारेज गर्दै नयाँ सहमति गर्नुपर्ने माग राखेका छन् ।
























