चितवन विशेष

देवघाटमा कन्या गुरुकुल बनाउन सञ्चालित महायज्ञमा दुई दिनमा लाखौं संकलन

Banner

चितवन, मंसिर १४-

भरतपुरमा जारी श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञमा दान दाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा वेद विज्ञान समन्वयात्मक समवेशी कन्या गुरुकुल स्थापनाका लागि आयोजित श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञमा दोस्रो दिन नौं लाख ७७ हजार ३०८ रुपैयाँ दाताहरुले दान दिने प्रतिबद्धता गरेको आर्थिक समितिका संयोजक चन्द्रलाल राज भण्डारीले जानकारी दिए ।

मातृ शक्ति जागरण महाअभियानअन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो । ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा भएको महायज्ञको प्रदेश नम्बर ३ का सहकारी कृषि तथा भूमि ब्यवस्था मन्त्री दावा दोर्जे लामाले शुक्रबार उद्घाटन गरेका हुन् ।

पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भइरहेको भन्दै गुरुकुल शिक्षामार्फत् यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका सहसंयोजक बाल सन्त कल्याणी दासले बताए ।  नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीलाई समेट्ने गरी गुरुकुल शिक्षा दिनका लागि महायज्ञ आयोजना भएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताए । गुरुयोजना अनुसारको भवन निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोले सोही गुरुयोजना पूरा गर्न महायज्ञ गरिएको उनको भनाइ छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवाससहितको व्यवस्था, पुस्तकालय, सभाहललगायतका संरचना निर्माण गर्ने बताइएको छ । महायज्ञ अवधिभर पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा आशिर्वचन प्रदान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>