चितवन विशेष

शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन चितवनमा सुरु

Banner

चितवन, मंसिर १२–

शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन आज (बिहीबार)देखी चितवनमा सुरु भएको छ ।

चितवन मेडिकल कलेजको सभाहलमा सुरु भएको सम्मेलनमा ‘नेपालमा शल्य चिकित्सामा वर्तमान चुनौती’ विषयमा छलफल हुनेछ ।
पहिलो दिन आज प्रि सम्मेलन अन्तरगत प्रत्यक्ष कार्यशाला गरिएको छ । जहाँ चिकित्सकले गरिरहेको शल्यक्रियाको प्रत्यक्ष रुपमा अन्य चिकित्सकहरुले भिडियो मार्फत जानकारी लिएका थिए । विदेशी चिकित्सकले चितवन मेडिकल कलेजमा हर्निया, पेटको क्यान्सरलगायत रोगको नयाँ प्रविधि मार्फत गरिएको शल्यक्रियाको प्रत्यक्ष रुपमा भिडियो मार्फत जानकारी लिएका हुन् ।

सम्मेलन अन्तरगत भोलि (शुक्रबार)देखी विभिन्न विषयमा ७० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने नेपाल शल्य चिकित्सक समाज चितवनका सदस्य युरोलोजिस्ट डा.सुदिपराज केसीले जानकारी दिए ।

नेपाल शल्य चिकित्सक समाजको आयोजना र चितवन शाखाको संयोजनमा सुरु भएको सम्मेलनको औपचारिक समुद्घाटन भने शुक्रबार साझ मात्र हुनेछ । सम्मेलनको समुद्घाटन सत्रमा चर्चित व्यक्तित्वहरु कुलमान घिसिङ, महाविर पुन, उदय पियालगायतको उपस्थिति रहने छ ।

तीन दिने सम्मेलनमा देशभरका करिव तीन सय शल्य चिकित्सकहरुको सहभागिता रहने नेपाल शल्य चिकित्सक समाजका सचिव डा.आशिष पुनले जानकारी दिए ।

उनका अनुसार शल्य चिकित्सामा विदेशमा के भइरहेको छ, कसरी शल्यक्रियाहरु भइरहेका छन्, नयाँ–नयाँ उपकरणहरु कस्ता आइरहेका छन् यी सबै कुराको अनुभव आदान प्रदान गरिने छ ।

यस्तो कार्यशालाले चिकित्सकहरुको क्षमता अभिवृद्धिमा मद्धत पुग्ने समाजका चितवन अध्यक्ष डा.विनय ठाकुरले बताए । उनका अनुसार सम्मेलन शनिबार सकिनेछ । सम्मेलनलाई सफल बनाउन पहिलो दिन बिहीबारको सम्पूर्ण व्यवस्थापन खर्च चितवन मेडिकल कलेजले गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>