चितवन विशेष
चितवन मेडिकल कलेज भन्छः ‘विद्यार्थीको माग पुरा भयो, आन्दोलन फिर्ता लिएर पठनपाठनको वातावरण बनाऔं’

चितवन, मंसिर १२–
चितवन मेडिकल कलेजले विद्यार्थीको माग पुरा भएको भन्दै सबै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेको छ ।
कलेज आज पत्रकार सम्मेलन गरी आन्दोलरत विद्यार्थीहरुलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन र भएको सहमती कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न अन्य सरोकारवाला सम्वद्ध पक्ष र अभिभावकलाई अनुरोध गरेको छ । कलेजका प्रवन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले विद्यार्थीको मुख्य माग नै सरकारसंग भएको दुई बुँदे सहमतिले पुरा गरेकोले पठनपाठनको वातावरण तयार पार्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा प्राडा न्यौपानेले भने–‘सरकारसँग भएको सहमती पछि आन्दोलरत विद्यार्थीहरुको माग पनि पुरा भएको बुझाई मेडिकल कलेज सञ्चालकहरुको छ । लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन उनीहरुको मुख्य माग सहमतीले पुरा गरेको छ ।’ कलेजले आफ्ना विद्यार्थीहरुको भविष्य अन्योलमा नपार्नको लागि सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो पढाई सुचारु गर्न पनि अनुरोध गरेको छ ।
प्राडा न्यौपानेले समस्याको दीर्घकालिन समाधान निकाल्ने प्रयासलाई सकारात्मक रुपमा लिन र कसैको पनि उक्साहटमा लागेर भविश्य बर्वाद बनाउन तिर नलाग्न सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् । उनले देश भित्र नै राष्ट्रिय आवश्यकतासहितको स्वास्थ्य सम्बन्धी जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ सरकारको नीति, नियम, निर्देशन र कानुनको परिधीमा रहेर स्थापित मेडिकल कलेजहरुको योगदानलाई नजरअन्दाज गर्न नहुने औल्याए ।
मेडिकल कलेजले विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले करिब एक महिना पछि सारेको वार्षिक परीक्षा नजिकिसकेको अवस्थामा विद्यार्थीहरुले परीक्षाको तयारी गर्न तथा वार्षिक परीक्षा सारिएको कारणले प्राज्ञिक क्यालेण्डरमा असर पर्न सक्ने भएकाले त्यसतर्फ समेत सचेत रह सम्पूर्ण सरोकारवाला विद्यार्थीहरु तथा अभिभावकहरुमा आग्रह समेत गरेको छ ।
कलेजले सरकार तथा अन्य अनुगमनकारी निकाएको निर्देशनहरुलाई मान्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकार र सरोकार वालाहरुसंग मंसिर १० गते राती भएको सम्झौतालाई पूर्ण रुपमा पालना गर्न प्रतिवद्ध रहेको जनाएको छ । चितवन मेडिकल कलेजले गत वर्ष र अघिल्लो शैक्षिक सत्रमा बढि लिएको शुल्क समायोजन गर्ने प्रकृया बुधबार देखि नै अघि बढाइसकेको छ ।
























