मकवानपुर

हेटौंडामा निर्माणाधीन बहुप्राविधिक महाविद्यालयको मुख्यमन्त्री पौडेलद्वारा निरीक्षण

Banner

हेटौंडा, मंसिर ५-

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधीन नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलको आज निरीक्षण गरेका छन् ।

अवलोकनका क्रममा उनले निर्माण कम्पनीसँग कामको प्रगतिबारे जानकारी लिएका थिए । निर्माण प्रक्रियामा कुनै पनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई उनले आग्रह गरे । महाविद्यालय निर्माणका लागि गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।
बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष दुई हजार ५०० प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्वपूर्ण रहेकोले यसलाई आफूले विशेष चासोका साथ हेरेको उनले बताए । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने चार प्राविधिक विषय जीवन उपयोगी हुने उनले विश्वास ब्यक्त गरे ।

विविध कारणले लामो समय रोकिएको योजना जती सक्दो चाँडो सक्न मुख्यमन्त्री पौडेलले आग्रहसमेत गरे । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने समेत बताएका थिए । उनले ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकाको समय मिलाएर निगरानी गर्ने जानकारी दिए । अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको पनि सहभागिता रहेको थियो । शिलान्यास भएदेखि नै जमिन सम्याएर ‘बेस’ तयार गर्ने काम सुरु गरिएको छ ।

२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतिकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । प्रदेश सरकारले २६ बिघा जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपैयाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>