चितवन विशेष

चितवनमा उपनिर्वाचनः मतदाता आकर्षित गर्न नेकपा र काँग्रेसबीच रस्साकस्सी

Banner

भरतपुर,मंसिर ५-

आगामी मंसिर १४ गते चितवनका दुई स्थानीय तहका तीन वटा वडामा हुने उपनिर्वाचनको लागि अहिले दलहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तीनवटै वडामा मुख्यतया सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको बीचमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी अभियानलाई हेर्दा विगतका निर्वाचनहरु जस्तै यी दुई दलका कार्यक्रमहरुले नै बढी प्राथमिकता पाएका छन् । मतदाता आकर्षित गर्न दुई दलबीच अहिले रस्साकस्सी चलिरहेको देखिन्छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा विगतको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदवार चतुरमान गुरुङले झिनो मतअन्तरले जितेको ठाउँ हो । तथ्यांकीय अंकगणितमा तत्कालिन नेकपा एमाले र माओवादी एक भएपछि स्वतः नेकपाका उम्मेदवारले नै निर्वाचन जित्ने देखिन्छ तर पनि नेपाली काँग्रेसले आफूले जित्ने दाबी गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का १६ नम्बर वडा अध्यक्ष बद्री चापागाई विगतको निर्वाचन जितिरहेको क्षेत्र भएकोले आफूहरुको जीत सुनिश्चित नै भएको दाबी गर्छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरु बिहान ८ बजेदेखि साँझसम्म हरेक दिन घरदैलोमा जुटिरहेका छन् । कात्तिक २७ गतेदेखि सुरु भएको उनीहरुको घरदैलो अभियान निर्वाचनको मौनअवधि सुरु नभएसम्म चलिरहने चापागाईले जानकारी दिए । नेकपाको घरदैलोमा एकैपटक तीन सय जनासम्मको सहभागिता हुने गरेको छ ।

सत्तारुढ नेकपाकै शैलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि घरदैलोलाई निरन्तरता दिइरहेको छ । काँग्रेस भरतपुर १६ का वडा सभापति रामबहादुर बस्नेतले रुटिन नै बनाएर आफूहरु घरदैलोमा हिँडिरहेको बताए । बिहान १० बजेपछि सुरु हुने घरदैलो साँझसम्म नै चल्ने उनले बताए ।

बस्नेतले नेकपाले जितेको ठाउँ भए पनि यसपटक जनताको मनस्थिति बदलिएकोले यसपटक काँग्रेसले वडा अध्यक्षमा जित्ने दाबी गरे । त्यस्तै, पूर्वी चितवनको खैरहनी नगरपालिकाको दुईवटा वडामा पनि यसपटक उपनिर्वाचन हुने भएकोले दुई ठूला दल नेकपा र काँग्रेसको बीचमा मतदाता आकर्षित गर्न दौडधुप बढेको देखिन्छ । विगतमा काँग्रेसले जितेको यो वडामा काँग्रेस आफ्नो पुरानो विरासत जोगाउने पक्षमा देखिन्छ भने नेकपा पनि विगतको हारको बदला लिने सोचमा छ ।

भरतपुर १६ मा दुई वटै दलको ठूला चुनावी सभा गर्ने सोच नभए पनि खैरहनीमा भने दुईवटै दल केन्द्रीय नेताहरु ल्याएर ठूला चुनावी कोणसभाहरु गर्ने योजनामा छन् । खैरहनी वडा नम्बर ४ का नेकपाका प्रचारप्रसार संयोजक कमल पाठक सक्रियरुपमा निर्वाचनको लागि घरदैलो चलिरहेको बताउँछन् । मंसिर ६ र ७ गते पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड नै ल्याएर चुनावी सभालाई सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए ।

वि.सं. २०५२ सालदेखि नै विभिन्न सामाजिक सेवाका काममा सक्रिय रहेकोले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीले यसपटक जसरी पनि जित्ने पाठकको दाबी छ । त्यस्तै खैरहनीकै वडा नम्बर ५ मा पनि नेकपाको घरदैलो र कोणसभाले निरन्तरता पाइरहेको छ । नेकपाका प्रचारप्रसार संयोजक जगन्नाथ आचार्यले पार्टीको चुनावी प्रचारप्रसार कार्यालय स्थापनादेखि समग्र वडालाई ६ भागमा बाँडेर जनताको राय, सुझाव संकलन लिने कार्यक्रम तय भएको बताए ।

केन्द्र र स्थानीय तहलाई जोड्न पनि नेकपाको नेतृत्व आवश्यक भएको उनले विचार राखे । त्यस्तै नेपाली काँग्रेसले पनि खैरहनीमा केन्द्रीय युवा नेताहरु ल्याउनेदेखि घरदैलोका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । नेपाली काँग्रेस खैरहनीका नगरसभापति शशि खनियाले विश्वप्रकाश शर्मा र गगन थापा जस्ता युवा नेताहरु ल्याएर चुनावी कोणसभा गर्ने तयारी रहेको जानकारी दिए । आरोपप्रत्यारोप गर्ने प्रकारको कोणसभा भन्दा पनि घरदैलो कार्यक्रमलाई काँग्रेसले मुख्य प्राथमिकता दिइरहेको उनले बताए ।

उपनिर्वाचनमा होमिने नागरिकको रहर नभए पनि बाध्यता परेकाले दरो प्रतिपक्षको रुपमा काँग्रेसको भूमिकालाई स्थापित गर्न दुई वटै वडामा काँग्रेसको उम्मेदवारलाई जनताले विजयी गराउने उनले विश्वास व्यक्त गरे । यसरी चितवनमा जतिजति निर्वाचन नजिकिँदै छ त्यतित्यतिनै चुनावी माहोल बन्दै गएको देखिन्छ ।

उपनिर्वाचन बाध्यता

तीन वटै वडाका वडाध्यक्षको निधन भएकोले यहाँ उपनिर्वाचनको बाध्यता परेको हो । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नं. ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं. ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको गत असोज ४ गते क्यान्सर रोगका कारण उपचारका क्रममा निधन भएको थियो । उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न बुधबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक पनि बसेको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लामा कुल १५ पद रिक्त रहे पनि तीनवटा वडाध्यक्षका लागि मात्र मंसिर १४ गते निर्वाचन गर्न लागिएको हो । दिवंगत वडा अध्यक्षहरुको स्मरण गर्दै नेकपा र काँग्रेस दुवै मतदातालाई आफूतिर आकर्षित गर्न खोजिरहेको देखिन्छ ।

निर्वाचनको अड्कलबाजी

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा खैरहनी नगरपालिकाका वडा नं. ४ र ५ मा काँग्रेसका उम्मेदवारहरुले जितेका थिए भने, भरतपुर १६ मा एमाले उम्मेदवारले जितेका थिए ।

खैरहनी– ४ वडामा काँग्रेसबाट उम्मेदवार बनेका देवबहादुर बस्नेत सोही वडाका पार्टी कार्यवाहक अध्यक्ष हुन् । नेकपाबाट उम्मेदवार बनेका बेदबहादुर अधिकारी पूर्वएमाले हुन् । अघिल्लो पटकको निर्वाचनमा काँग्रेस र एमालेको मतान्तर कम भएको र माओवादी केन्द्रको पनि मत राम्रै रहेका कारण यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालमा काँग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए । २०७४ मा दुई हजार ३१५ मतदाता रहेकोमा हाल बढेर दुई हजार ६९२ पुगेको छ । यस वडामा मतदाता ३७७ जना थपिएका छन् । बढेको मतले निर्वाचनमा सामान्य प्रभाव पार्ने देखिन्छ ।

खैरहनी– वडा नं. ५ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेकी प्रतिमा बस्नेत सोही वडाबाट निर्वाचित दिवंगत वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । नेकपाले यस वडामा नारायण प्रधानलाई उम्मेदवार बनाएको छ । प्रधान पूर्वमाओवादीका हुन् ।

२०७४ को निर्वाचनमा यस वडामा काँग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए । तत्कालीन एमाले र माओवादीको मत जोड्दा काँग्रेस उम्मेदवारभन्दा थोरै मात्र बढी देखिन्छ । यस वडामा २०७४ मा एक हजार ७८५ मतदाता रहेकोमा हाल बढेर दुई हजार १११ पुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

यहाँ ३२६ मतदाता बढेका छन् । बढेका मतदाता, स्वर्गीय वडाध्यक्षकै धर्मपत्नी काँग्रेसको उम्मेदवार बन्नु र पूर्वमाओवादीका सदस्यको उम्मेदवारी निर्वाचन परिणामलाई प्रभाव पार्ने तत्वहरु हुन् । भरतपुर–१६ मा काँग्रेसबाट उम्मेदवार बनेका अमृत हमाल गत स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार हुन् । नेकपाले यहाँ अहिले भक्तराज हमाललाई उम्मेदवार बनाएको छ । उनी पूर्वएमाले हुन् ।

२०७४ सालमा तत्कालीन एमाले उम्मेदवार चतुरमान गुरुङले काँग्रेसका उम्मेदवार हमाललाई ६४ मतको झिनो अन्तरले पराजित गरेका थिए । चतुरमानले दुई हजार १३२ मत ल्याएर जित्दा काँग्रेसका हमालले २ हजार ६८ मत ल्याएका थिए । माओवादी केन्द्रका कृष्ण पुडासैनीले ९८९ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा यस वडामा कुल सात हजार २५६ जना मतदाता रहेकोमा पाँच हजार ७२३ मत खसेको थियो । हाल मतदाता संख्या बढेर ८ हजार ४८१ पुगेको छ । यस वडामा १ हजार २२५ जना नयाँ मतदाता थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>