चितवन विशेष
जिससलाई थप अधिकार दिने तयारीमा प्रदेश सरकारः मुख्यमन्त्री पौडेल

चितवन,कात्तिक ३०
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई थप जिम्मेवारी दिने तयारी गरेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्ला सभालाई शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारबाट जिल्लामा हुने कामको अनुगमन गर्ने जिम्मा जिससलाई दिन लागेको बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह समेत गरे । प्रदेश सरकारसँग बढी अपेक्षा गर्न नहुने भन्दै पौडेलले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति र स्थानीय तहका उपप्रमुखलाई अधिकारको विषयमा असन्तुष्टि पोख्ने प्रति लक्षित गर्दै उनले संविधानले दिएको अधिकार बुझेर काम गर्न अनुरोध गर्नुपर्ने धारणा राखे ।
उनले कृषि र पर्यटनले मात्र सम्बृद्धिको यात्रामा सहयोग पु¥याउने बताउँदै यसतर्फ केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठलगायतले बोलेका थिए ।
























