चितवन विशेष
भरतपुर महानगरपालिकाका २८ वडा कमिटीलाई प्रचण्डले खुवाए सपथ

चितवन,कात्तिक २९-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिकाका २८ वडाका वडा कमिटीको सपथ ग्रहण गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका हुन् । महानगरपालिकाका २९ वडा मध्य २८ वडाको सपथ ग्रहण गराइएको हो । वडा नम्वर १६ मा उपनिर्वाचन हुने भएकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै यसअघिनै सपथग्रहण गराइएको भरतपुर महानगर कमिटीका अध्यक्ष राम प्रसाद न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा मान्य नहुने बताए । उनले महाकालीदेखिको पूर्वको भू–भाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने, –‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत हो, अन्य कुरा मान्य छैन ।’
सन् १८१६ सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने बताए । प्रचण्डले भने,–‘सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।’

सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले नेपाली गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको बताए । उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने बताए । यस्तै अध्यक्ष प्रचण्डले यसअघि पराजित भोगेको स्थानामा हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेद्वारले जित हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, –‘पहिले नजितेको ठाउँमा अहिले जित्ने संभावना छ, त्यसका लागि हामी एकतावद्ध भएर रात दिन खट्न प¥यो ।’ कार्यक्रममा प्रदेश नम्बर ३ का सहइञ्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा एक हजार तीन सय सदस्यले शपथ लिएका थिए ।
























