चितवन विशेष
क्रिकेट रंगशालालाई डेजी स्कुलले दियो साढे दुइ लाख

चितवन, कार्तिक २६–
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग आउने क्रम जारी छ ।
खैरहनी नगरपालिका वडा नम्बर ८ मा रहेको डेजी इंग्लिस बोर्डिङ्ग स्कुलले मंगलबार सहयोग रकम हस्तान्तरण गरेको छ । निर्माणाधिन रंगशालामा एक कार्यक्रमका बीच स्कुलका प्राचार्य प्रेमप्रसाद रिमालले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई दुई लाख ६५ हजार ९ सय ६० रुपैया नगद हस्तान्तरण गरे ।
स्कुलका प्राचार्य रिमालले डेजी स्कुलले जस्तै देशभरका अन्य विद्यालयहरुलाई पनि रंगशाला निर्माण अभियानमा हातेमालो गर्न आग्रह गरे । कलाकारिता क्षेत्रमा रमाईरहेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे राष्ट्रका लागि यति ठूलो अभियान सुरु गरेकोमा आभार प्रकट गरे । उनले सरकारले गर्नुपर्छ भनेर बस्नु भन्दा पनि सबैले आफ्नो लागी आफुनै सरकार हो भन्ने सोच राखी सहयोग गर्न आग्रह गरे ।
रिमालले आगामी दिनमा पनि सहयोग संकलनका लागि विद्यालयमा सहयोग पेटिका राखिने बताए । यस्तै उनले शैक्षिक भ्रमणका लागि चितवन आउने सम्पूर्ण विद्यालय तथा कलेजहरुलाई एकपटक रंगशाला अवलोकन गर्न आग्रह समेत गरे ।

सोही स्कुलमा कक्षा १० मा अध्यनरत एन्जिला सेढाईले निर्माणाधिन रंगशाला सम्पुर्ण नेपालीको सान भएकोले तन मन धन बाट सक्दो सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्–‘हामी जस्तो विद्यार्थीहरुले खाजाको पैसा कटाएर सहयोग गरेका छौं, सम्पूर्ण नेपाली एकजुट भए रंगशाला निर्माण सम्भव हुन्छ ।’
फाउण्डेसनका अध्यक्ष धुर्मुसले सहयोगको लागी डेजी स्कुललाई धन्यवाद दिए । उनले निर्माण स्थलमै उपस्थित भई सहयोग रकम हस्तान्तरण गर्ने डेजी स्कुल नै पहिलो विद्यालय भएको बताए । रंगशाला निर्माण भईसके पछि यही विद्यालयका विद्यार्थी खेल्ने अवसर प्राप्त गर्ने बताए । उनले डीपीआर अघि काम कसरी गर्ने भन्ने दुबिधा भए पनि अब सहज भएको बताए । निमार्ण कार्यले तीव्रता लिएसंगै आर्थिक सहयोग प्राप्त हुँदै जाने विश्वास ब्यक्त गरे ।

























