चितवन विशेष
ढुङ्गे मुर्तिको खुल्ला सङग्राहलय बन्दै माडीको सोमश्वरगढी

प्रिती पोख्रेल,
चितवन कात्तिक २६-
धार्मिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र माडीको सामेश्वरगढीमा राष्ट्रिय प्रस्तर मुर्तिकला कार्यशाला अन्तरगत मुर्ति निर्माण कार्य तीब्र पारिएको छ । माडी नगरपालिका र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गत कात्तिक २२ गतेबाट माडीमा सुरु कार्यशालामा मुर्ति निर्माण तीब्र पारिएको हो । कार्यशालामा देशकै ख्यातीप्राप्त मुर्तिकारहरुद्धारा परम्परगत, धार्मिक,आधुनिक र समसामयिक गरी झण्डै ५० वटा मुर्ति निर्माण गरिने छ । पहिलो चरणमा स्थानीय मुर्तिकार दिनेश्वर महत्तो सहितको सहभागितामा ३० मुर्तिकारहरुले आफ्नो शिल्प प्रयोग गरी आबासिय रुपमा गढीमा मुर्ति कुदी रहेका छन् ।
कार्यशालाको उदेश्य र महत्वबारे जानकारी दिदै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले माडीको सोमेश्वरगढी ढुङ्गे मुर्तिको खुल्ला संग्राहलय बन्ने बताए । उनले भने, “प्रदेश सरकारको समेत चासो र लगानी रहेको सोमेश्वरगढी चितवनको मात्र नभई देशमै छुट्टै पर्यटकिय गन्तव्यको रुपमा बिकास हुनेमा हामी मात्र होइन, स्वयम् कार्यशालामा सहभागी कलाकारहरु पनि बिस्वस्त हुनुहुन्छ” । सोमश्वरगढी माडी पर्यटनको मेरुदण्ड रहेको भन्दै उनले मुर्तिकला कार्यशालाले पर्यटन बिकास र प्रर्बद्धनमा इट्टा थप्ने काम गरेको उनको भनाई छ ।

सोमेश्वरगढीमा प्राकृतिक रुपमा रहेका चट्टानमा कुदिएका मुर्तिहरु माडीको इतिहाँस र पहिचान बोक्दै भावि सन्ततीका लागि साक्षि हुने माडी नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले बताए । नेपाल सरकारले भ्रमण बर्ष २०२० को सय गन्त्व्यमा समावेश गरेको सोमेश्वरगढीले उक्त निर्णयलाई न्याय गर्ने उनको ठहर छ । अहिले गढी परिसरमा अन्य भौतिक निर्माणका कार्य समेत तीब्र पारिएको छ ।

कार्यशालमा माडीका मुर्तिकार महत्तोसँगै राजु पिठाकोटे, लक्ष्मण भुजेल, गंगाधर सारु, इन्दिरा श्रेष्ठ, राजन काफ्ले, उत्तम डंगोल, हरिराम अधिकारी, रामचन्द्र पण्डित, हरिराम अधिकारी, हिम्मत नेम्वाङ, देवेन्द्र पाण्डे, सुनिता राणा,सुमन राई, भिम श्रेष्ठलगायत प्रतिष्ठानमा आबद्ध ३० जना मुर्तिकारहरुको सहभागीता रहेको छ । १८ दिनसम्म कलाकारहरुले सो स्थानमा मुर्ति कुद्ने छन् । सुन्दर नगरी माडीमा वैकुण्ठ ताल,वाल्मिकी आश्रम,परशुशराम कुण्ड, शनि मन्दिर,गोद्धकलगायत धार्मिक तथा पर्यटकिय महत्वका गन्तव्य छन् ।

























