चितवन विशेष
सीमा अतिक्रमणको विरोधमा भरतपुरमा प्रदर्शन,विद्यार्थीहरुले जलाए भारतको नयाँ नक्सा

चितवन, कात्तिक २६-
नेपाल विद्यार्थी संघ चितवनले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् ।
भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित नक्सा जलाएको हो । भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या कलेजबाट निस्किएको विरोध ¥याली चौबिसकोठी हुँदै पुलचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभा सुरु हुनुअघि उनीहरुले भारतीय नक्सा जलाएका थिए । सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताले भारतको ज्याजती अन्त्य नभएर सडक संघर्ष गर्न तयार रहेको बताएका थिए । भारतीय हस्तक्षेप बन्द गर, लिपुलेख हाम्रो हो, सीमा मिच्न पाइँदैन, गोव्याक इण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने बाध्यता हुन सक्ने बताएका थिए ।

सरकारले यस विषयमा तत्काल समाधानको बाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा नेविसंघ नेतृ कल्पना पौडेल, नेता प्रमेश्वर खनाल, विद्यार्थी नेताहरु कृष्ण बगाले, नेविसंघ सप्तगण्डकी बहुमुखी क्याम्पसका इकाइ सचिव साजन गुरुङ, विद्यार्थी नेताहरु प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भुषाल लगायतले सम्बोधन गरेका थिए ।

























