Uncategorized

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण : प्रचण्ड

Banner

चितवन कात्तिक २६-

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन। अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्दै उनले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै काम गर्नुपर्ने चुनौती संरक्षणकर्मीमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले समन्वयकारी भूमिका निर्वाह गरी काम गर्नुपर्ने औल्याए । संरक्षण र विकास सँगसँगै अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै दाहालले विकासमा दबाब छ भने । वन र वन्यजन्तु संरक्षणमा नेपालले केही क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, सहसचिव डा महेश्वर ढकाललगायतले सम्मेलनको सफलताको कामना गरेका थिए ।

एशियामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ ।

यस अघिको आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलन तयारी समितिका संयोजक डा महेश्वर ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्दै छ ।

त्यसैगरी प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आ–आफ्ना प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानवद्वन्द्व न्यूनीकरणका विषयमा विज्ञहरुले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए।

वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझ संस्था आईआरएफ हो । सम्मेलनमा रेन्जरको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरुले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाको योगदान, समुदायस्तरमा उनीहरुले पु¥याएको योगदान, आगामी दिनमा उनीहरुको सुरक्षाबारे छलफल हुने जनाइएको छ ।

पर्यटन वर्ष २०२० को सङ्घारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विश्वमानै वन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ । यहाँका एक सिङ्गे गैँडा, पाटेवाघलगायतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>