चितवन विशेष

सिनर्जी एफएम आजदेखि १९ औँ वर्षमा प्रवेश

Banner

चितवन, कात्तिक २६–

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम ९१.६ मेगाहर्ज आज (मंगलबार)देखि १९ औँ वर्षमा प्रवेश गरेको छ ।
वि.सं.२०५८ कात्तिक २६ गते आजकै दिन चितवनको पहिलो रेडियोको रुपमा भरतपुर–१० मा सिनर्जी एफएम स्थापना भएको थियो । सिनर्जीको स्थापनासँगै चितवनमा रेडियो खुल्ने क्रम बढेको थियो । हाल जिल्लामा झण्डै दुई दर्जनको हाराहारीमा रेडियो स्टेशनहरु रहेका छन् ।

सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले एफएमको १८ औँ वार्षिकोत्सवसँगै एफएमले कार्यक्रमहरुलाई थप परिस्कृत गर्दै लैजाने बताए । उनले १९ औँ वर्ष प्रवेशसंगै लोकप्रिय कार्यक्रम ‘जनबहस’ पुनःसंचालन गरिने जानकारी दिए ।
यस्तै नेपाली गीतसंगीतलाई मुख्य प्राथमिकता दिँदै आइरहेको एफएमले वार्षिकोत्सवसँगै नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । एफएमले यसपटक ब्याण्डहरुबीच प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरेको छ । एफएमका कार्यक्रम संयोजक एवम् पहिलो कार्यक्रम प्रस्तोता मनोज घिमिरेले चितवनका विभिन्न रेष्टुरेन्टहरुमा प्रस्तुति दिइरहने ब्याण्डहरुबीच प्रतिस्पर्धा गराइने बताए ।

सो प्रतियोगिता अन्तरगत चितवनसँगै अन्य जिल्लाका गरी २० वटा ब्याण्डबीच प्रतिस्पर्धा गराइने घिमिरेले बताए । एफएमका कार्यक्रम प्रस्तोता रविन सुवेदीले वार्षिकोत्सवसँगै एफएमका कार्यक्रमलाई थप परिस्कृति गर्दै लैजाने बताए । उनले सबैजसो रेडियोको कार्यक्रमको ढाँचा एकैखालको जस्तो हुने गरेको भन्दै सिनर्जीले फरक ढंगले कार्यक्रमहरु अघि बढाइने बताए ।

एफएमका स्टेशन म्यानेजर पौडेलले रेडियोमा नयाँनयाँ कार्यक्रम संचालनका लागि कर्मचारीहरु थप गर्दै अघि बढिरहेको बताए । उनले भने, –‘श्रोतासँगै दर्शकसँग पनि नजिक हुने प्रयत्नमा छौँ, अनलाईन टिभीमार्फत हाम्रा कार्यक्रमहरु दर्शकमाझ लैजादै छौँ ।’

सिनर्जी एफएम आकाशीय तरंगमार्फत हाल २० घण्टा र इन्टरनेट मार्फत चौबिसै घण्टा प्रशारण भइरहेको छ । समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको सिनर्जी हाल २००० वाट क्षमताबाट प्रशारणमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>