चितवन विशेष
व्यवसायीक धानखेतीमा आकर्षित भएनन चितवनका किसान,अनुदानका लागि एउटा पनि परेन निवेदन

चितवन,कात्तिक १५-
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना चितवन अन्तरगत रहेको धानबालीमा व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(जोन)मा सूचीकृत हुनका लागि किसानहरु आकर्षित देखिएका छैनन् । सूचीकृत हुनका लागि एक महिनाको अवधि राखेर असोज १२ गते सूचना प्रकाशित गरे पनि अहिलेसम्म कोही नआएको कार्यालयले जानकारी दिएको छ ।
“धानबाली व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रममा आवद्ध भई सामूहिक रुपमा चक्लाबन्दी गरी यन्त्रमैत्री धानखेती तथा प्रशोधनका लागि किसानहरुलाई सूचीकृत हुन आह्वान गरिएको थियो,” प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले भन्नुभयो, “प्रकाशित सुचना अवधिभर एक जना किसान पनि सुचिकृत हुन नआएपछि एक हप्ताको म्याद थपिएको छ ।” पहिलो प्रकाशित सुचनाको मितिले कात्तिक ११ गते भित्र किसानहरु सुचिकृत हुन आउनुपर्ने थियो । दशै र तिहारको बिदाका कारण पनि किसानहरु सृचिकृत हुन नआएको अनुमान गरिएको छ ।
धानको उत्पादनमा बृद्धि गर्नका लागि चितवनमा चालु आर्थिक बर्षदेखि धान उत्पादन तथा प्रशोधन केन्द्र(जोन)को स्थापना गरिएको छ । “धानको उत्पादकत्वमा वृद्धि गरी, यान्त्रीकरण, पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवद्र्धन, प्रशोधन केन्द्रको स्थापना, मूल बीउ उत्पादन र खाद्यपोषण सुरक्षा सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “चितवनमा कार्यक्रमहरुको सुरुवाति चरण भएकाले पनि कार्यक्रमहरुका विषयमा किसानहरुलाई थाहा नहुन सक्छ ।”
कार्यालयले चालु आर्थिक बर्षका लागि रत्ननगर नगरपालिकाका ३ देखि ९ सम्मका वडा, खैरहनी नगरपालिकाका ५, ६, ७, ९, १०, ११, १२ र १२ र राप्ती नगरपालिकाका १, २, ३, ४ र ६ नम्बर वडालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । धान उत्पादन कार्यक्रममा संलग्न हुन सो क्षेत्रका इच्छुक कृषक समुह, कृषि सहकारी, जल उपभोक्ता समिति, कृषि फर्म, कृषि कम्पनीहरुलाई दरखास्त दिन आह्वान गरिएको कृषि अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।
दरखास्त दिन ईच्छुक व्यक्तिलाई सम्बन्धित निकायमा दर्ता भएको आधिकारिक प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन, भ्याट वा प्यान दर्ता नम्बर र कर तिरको प्रतिलिपी ल्याएर आउन आह्वान गरिएको छ । साथै जग्गा भाडामा लिई चक्लाबन्दी खेती गरि रहेको वा गर्ने भएमा जग्गा भाडामा लिएको कम्तीमा पाँच बर्षको सम्झौता पत्र, कार्यक्रममा समावेश हुने सदस्यहरुले खेती गरिने जग्गा, स्थान खुल्ने गरी जग्गा धनीको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
“जोन विकास कार्यक्रममा समावेश हुन स्वेच्छिक चक्लाबन्दीको मर्म र भावना अनुसार धान खेतीमा यन्त्रिकरण, आधुनिकरण तथा प्रशोधन र बजारीकरण प्रवद्र्धनका लागि प्रतिबद्धता सहितको संस्थागत बैठकको निर्णयको प्रतिलिपि आवश्यक पर्दछ,” उहाँले भनुभयो, “प्रकृया पु¥याएर आउने किसानलाई सुचिकृत गरिन्छ ।” कार्यक्रममा समावेश भएपश्चात किसानहरुले अनिर्वाय स्वच्छिक चक्लाबन्दी गरी खेती गर्नुपर्नेछ ।
चक्लाबन्दी गर्ने मेशिन उपकरणहरुको प्रयोग गरी उत्पादन लागत घटाउने कृषक समुह, सहकारी, समिति, फर्म, कम्पनीलाई स्वीकृत कार्यक्रम र बजेटको परिधि भित्र रही प्राथमिकतामा राखी, साना सिँचाई योजना धान खेती प्राविधि प्रर्दशनी लगायतका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।
























