चितवन विशेष
चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले तिरे ११ लाख क्षतिपूर्ति

चितवन कात्तिक १०-
उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए ।
पक्राउ परेका प्रत्येकले एक एक लाख रकम बुझाएर धरौटीमा रिहा भएका छन् । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरको थियो । उनीहरुविरूद्ध अभद्र व्यवहारमा चितवन प्रहरीले मुद्दा चलाएको थियो ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुले ५५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अभियोग पुष्टि भए १० हजार जरिवाना र एक बर्ष जेल बस्नुपर्ने बताए ।
नवलपुर मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएको थियो । नाकमा समस्या भएर उपचार गर्न आएकी ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुका आफन्तले कलेजको मूल गेट, आईसीयू, सीसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका थिए ।
























