खेलकुद
जेसीज विकास रनिङ शिल्डः उपाधि जित्ने दुवै टिमको दावी

चितवन, कार्तिक ८–
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुँदैछ । फाइनलमा ‘ए’ डिभिजनको बलियो क्लबले घरेलु टोली चितवन–११ को सामना गर्दैछ ।
दुवै टोलीले क्याम्पाचौरमा नयाँ इतिहास रच्ने दावी गरेका छन् । चितवन–११ का लागि यो स्तरको फाइनल पहिलो हो । त्यसकारण पनि ऊ ज्यादा उत्साहित छ । चितवनका प्रशिक्षक विजय घले घरेलु मैदानमा ठूलो प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताउँछन् ।
पुलिसलाई लागि पनि क्याम्पाचौरमा उपाधि उचालेको अनुभव कमै छ । पुलिसका प्रशिक्षक अनन्तराज थापा खेलाडीका रुपमा २०५५ सालमा विकास रनिङ शिल्ड उचालेको इतिहास प्रशिक्षकका रुपमा दोहोर्याउने सोचमा छन् ।
शुक्रबार क्याम्पाचौरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनीहरुले एकअर्कालाई कमजोर नआँक्ने तर प्रतिस्पर्धीको हरेक कमजोरीको फाइदा उठाउने बताए । आयोजक नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले फाइनल प्रतिस्पर्धा भव्य हुनेमा आशा व्यक्त गरे । अहिलेसम्मको अवस्था हेर्दा प्रतियोगिता सफल भएको दावी गर्दै उनले भोलिको खेलमा घरेलु दर्शकलाई आउन आह्वान गरे ।
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
























