स्वास्थ्य

शहरी स्वास्थ्य केन्द्रमा प्र्रसूति सेवा

Banner

कञ्चनपुर, कात्तिक ८

 

गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहँुदा कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माईन । श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले टाढाको अस्पताल जान सक्नुभएन । जोखिम मोलेर पनि दुई शिशु घरमै जन्माएँ उनले भनिन्, “हाल गाँउ नजिकै शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्र्रसूति सेवा सेवा सञ्चालन भएपछि तेस्रो शिशु सुरक्षितरुपमा जन्माउन पाएँ ।” घरमै शिशुलाई जन्म दिँदा निकै कष्ट झेल्नु परेको मा उनी स्वास्थ्य केन्द्रमा सहजरुपमा शिशुलाई जन्म दिन पाइएकोमा खुशी छिन ।

केन्द्रका स्वास्थ्यकर्मीको सल्लाहमा उनले नियमित गर्भ जाँच गराउनाका साथै केन्द्रमै शिशु जन्माएपछि यातायात र प्रोत्साहन रकम पाउदा दङ्ग भएकि छिन् । श्रीमान्ले कमाएको रकमले खाना जुटाउनै मुश्किल हुन्छ उनिले भनिन् “प्रसूति केन्द्रबाट पाइएको रकमले पोषिलो खाने कुरा खान पाइने भएको छ ।” चोबिसै घण्टे प्रसूति केन्द्रमा शिशुलाई जन्म दिने आमा र शिशुको स्वास्थ्य अवस्थाको स्थिति पत्ता लगाउनका लागि स्वास्थ्यकर्मीले केन्द्रमै बोलाएर जाँचसमेत गर्ने गरेका छन् ।

गाउँका ६० प्रतिशत महिलाले टाढाको अस्पताल जान नसक्दा विगतमा असुरक्षित तरिकाले घरमै शिशुलाई जन्म दिँदै आएका थिए । हाल प्रसूति केन्द्र सञ्चालनले गर्भवती महिला नियमित जाँचसँगै प्रसूतिका लागि केन्द्रमा पुग्ने गरेका छन् । रक्तअल्पता हुन नदिन र पोषिलो खानेकुराको व्यवस्थाका लागि स्वास्थ्यकर्मीले गर्भवती भएका महिला र उनका अभिभावकलाई सल्लाह दिने कार्यसमेत गर्दै आएकाले आमा र शिशुको अवस्था सन्तोषजनक हुन थालेको छ ।

विगतमा पोषिलो खानेकुरा खानुपर्छ भन्ने चेतनाको अभावका कारण जन्मिने शिशुमा कुपोषणको समस्या अधिक थियो केन्द्रका स्वास्थ्यकर्मीले भनिन्, “चेतना वृद्धिसँगै हाल त्यो समस्या हट्दै गएको छ ।” हाल नौ शिशुमा कुपोषणको समस्या देखा परेकामा उपचारात्मक औषधियुक्त खानाको माध्यमबाट उपचार गरी निको पारिएको छ । केन्द्रमा गत आवमा ९९ महिलाले प्रसूति सेवा लिएका थिए । चालू आवको हालसम्म ३५ ले प्रसूति सेवा लिएका छन् ।

सोही अवधिमा नियमित गर्भ जाँच गराउने महिलाको सङ्ख्या १९१ रहेकामा चौथो पटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या १३४ रहेको केन्द्रका अनमी शीलासिंह चन्दले बताईन् । उनको भनाई अनुसार गत वर्ष प्रसूति सेवा लिनेमा दलित २१, ब्राह्मण क्षेत्री ६४, जनजातिका महिला छ छन् । प्रसूति केन्द्रमा ५५ छोरा र ३६ छोरी जन्मिएका छन् ।

जनप्रतिनिधि आएपछि डेढ वर्षअघिदेखि नगरपालिकाको वडा नं १६ वसन्तपुरमा उक्त केन्द्र सञ्चालन भएसँगै चौबिस घण्टे प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो । उक्त केन्द्रमा डेढ वर्षको अवधिमा १३ हजार ३३ बिरामीले सेवा पाएका छन् । केन्द्रबाट एक हजार ३१७ बच्चाले नियमति खोप पाएका छन् । पाँच वर्षमुनिका स्वासप्रस्वासका बिरामी ४३६, पाँच वर्षमुनिका झाडापखालाका बिरामी ४९९, क्षयरोगका बिरामी २० को केन्द्रमा उपचार गरिएको छ ।

क्षयरोग लागेकामध्ये नौ बिरामी निको भएका र अन्य उपचारका क्रममा छन् । केन्द्रबाट परिवार नियोजनका साधन पिल्स ६१, डिपो १५८, इम्पलान्ट २७ र कण्डम दुई हजार ४०० जनलाई वितरण गरिएको छ । केन्द्रबाट नगरपालिकाका वडा नं १२, १३, १४, १६ र १७ का बासिन्दाले सो सेवा लिँदै आएका छन् । उक्त केन्द्रमा प्रमुखसहित चार अनमी र दुई स्वीपर कार्यरत छन् । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>