प्रवास
अटिजमले छेकेन युरेशलाई : नेपाली राष्ट्रिय झन्डा फरफराँउदै पोर्चुगलको लिस्बन म्याराथनमा नेपाली बालक

लिस्बन, पोर्तुगल, कात्तिक ६-
अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर पोर्चुगलमा भएको लिस्बन म्याराथुन पूरा गरेका छन् ।
लिस्बन मिनी म्याराथनमा सात वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् ।
लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ । म्याराथन क्लबको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको ‘ईडीपी मिनी च्याम्पियन्स म्याराथन’ मा सात वर्षीय युरेश पाण्डेयले आफ्ना पाँच वर्षीय भाई युरेकको साथमा दुई किमी दौड पूरा गर्न सफल भएका हुन् ।
युरेशमा अटिजमको पहिलो लक्षण तीन वर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डे बताउँछन् । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुसी लागेको पाण्डेले बताए । युरेश र युरेक दुवै दाजुभाईले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५०० बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।
बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक वर्ष बालबालिकाहरुका बीच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुवै दाजुभाइ आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन् ।