नवलपरासी
सुस्तामा बल्ने भयो सौर्य उर्जा मार्फत बिजुली,मन्त्री पुनले भनेः सुस्ताबासी अब ढुक्कसँग निदाउन सक्छन्

बिकास अधिकारी,
नवलपरासी, कात्तिक ६-
नवलपरासीको नारायणी पारीको गाँउ सुस्तामा बिजुली बत्ती बल्ने भएको छ ।
नारायणी नदीका कारण बिजुलीको लाइन विस्तार गर्न नसकिएको सुस्तामा अब सोलार प्रणाली सौर्य उर्जा निर्माण गरेर बिजुली बत्ती बाल्न लागिएको हो । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सुस्ता पुगेर सोलार प्रणाली निर्माणको सम्झौता तथा शिलान्यास गरे पछि सुस्तामा यसै आर्थिक वर्षभित्र बिजुली बत्ती बल्ने निश्चित भएको हो ।
सौर्य मिनिग्रेड निर्माणका लागि मंगलबार गाँउपालिका र निर्माण कम्पनीबीच सम्झौता पनि भएको छ । सुस्ताका सबै २६६ घरधुरीलाई पुग्ने गरी आधुनिक प्रविधि मार्फत् सौर्य उर्जा निर्माणको जिम्मा काठमाडाँैको टपसन ईनर्जी कम्पनीलाई दिइएको छ ।
चार करोड ८० लाख ९२ हजार कुल लागतमा निर्माण गर्न लागिएको एक सय किलोवाट क्षमताको सोलार मिनिग्रेडका लागि संघीय सरकारको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले दुई करोड ८८ लाख ५५ हजार अनुदान उपलब्ध गराएको छ भने तराई मधेस सम्वृद्धी कार्यक्रम मार्फत् एक करोड ७५ लाख र सुस्ता गाउँपालीकाले १७ लाख ३६ हजार लगानी गरेको छ । सोलार मार्फत जम्मा भएको सौर्य उर्जा जर्मन टक्नोलोजीको व्याट्रीमा जम्मा हुने छ र घरघरमा पु¥याउने बताइएको छ ।
८ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको सो आयोजना मार्फत् उत्पादित बिजुलीले विद्युत् प्राधिकरणबाट वितरीत बिजुली जस्तै सबै काम गर्न सकिने सौर्य उर्जा विज्ञ खेमराज भण्डारीले जानकारी दिए । सुस्तामा पछि विद्युत् प्राधिकरण मार्फत् बिजुली पुगे पनि यही सौर्य उर्जामा जडान गर्न मिल्ने गरी प्राविधिक व्यवस्था गरिने पनि भण्डारीले जानकारी दिए ।
सौर्य उर्जा निर्माणको शिलन्यासपछि सुस्ताको जनता दलित आधारभूत विद्यालयमा आयोजित कार्यक्रमा बोल्दै मन्त्री पुनले सुस्ताका बासिन्दालाई अब ढुक्कसँग जीवनयापन गर्न सक्ने अवस्था सरकारले सृजना गर्ने आश्वासन दिएका छन् । पुनले बिजुली बत्तीको लागि अब व्यवस्था भइसकेको र सिंचाई, शिक्षा, नागकिता, सडक पुर्वाधारलगायतका विषयमा पनि छिट्टै सरकारले आवश्यक व्यवस्था गर्ने मन्त्री पुनको भनाइ छ । नारायणी नदी नियन्त्रणका लागि सरकारले तत्कालै बाँकी तटबन्ध निर्माणको काम पनि गर्ने बताउँदै उनले डुबानको समस्या अब नहुने र सुस्ताबासी ढुक्कसँग निदाउन सक्ने गरी व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
सुस्तामा देखिएको नागरिकता र घरबासको समस्यालाई छिट्टै सम्बोधन गरिने मन्त्री पुनको भनाइ छ । विगतमा नागरिकता टोली आउँदा छुटेको नागरिकता वितरण पनि विशेष व्यवस्था गरी छिट्टै गरिने जानकारी दिँदै उनले सीमा रक्षक पनि हुने नागरिकता विहिन हुने अवस्था अब नहुने बताए ।
यस्तै मन्त्री पुनले संघीय सरकार प्रदेश र स्थानीय सरकार मिलेर सिचाइँको कार्यक्रम पनि सुस्तामा सञ्चालन गर्ने बताउँदै सोलार प्रणालीबाट बिजुली उत्पादन भएपछि सोही बिजुली मोटर सञ्चालन गरेर पानी तान्न सकिने बताए । उनले सुस्ता अब सम्वृद्धिको बाटोमा अगाडि बढेको बताउँदै जनता अवास कार्यक्रमअन्तर्गत घरविहिनलाई घर र लालपूर्जाको पनि व्यवस्था गरिने उनको भनाइ छ । सबै समस्याको विषयमा आगामी मन्त्रीपरिषद्को बैठकमा छलफल गर्दे प्रधानमन्त्रीसँग आफूले सुस्ता समस्याको विषयमा रिपोर्टिङ गर्ने पनि उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारीले अब सुस्ता विकासको बाटोमा अगाडि बढेको विचार राखे ।
सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले आफूले सुस्तालाई गाँउपालिकाका हरेक विकासका कार्यक्रमसँग प्रत्यक्ष जोड्न खोजेको बताए । सुस्तामा विद्युतीकरणको सुरुवातले सुस्ताको विकासको सुरुवात भएको भन्दै अब हरेक कुरामा आफूले विशेष पहल गरेर सुस्तालाई सम्वृद्ध सुस्ता बनाउने बताए ।
सुस्तामा बिजुली बल्ने भएपछि सुस्ताबासी उत्साहित भएका छन् । विगतमा कुरा सुनिने गरेको तर काम नहुने भएकाले विश्वास नलागेको तर अहिले भने मन्त्री नै आएर शिलन्यास गरिएपछि आशा जागेको स्थानीय विश्वनाथ ठाकुरले बताए । मन्त्री पुनसहितको टोली नारायण नदीमा डुंगाको माध्यमबाट पारी सुस्ता गएको थियो । सुस्ताबासी प्रत्येक पटक जोखिमपूर्ण यात्रा गरेर सुस्ता आवातजवात गर्नुपर्ने बाध्यता रहेको छ । सुस्तामा ढुंगा मार्फत् हिउँद याममा आउ जाँउ गर्न झन्डै डेढ घण्टा लाग्दछ । सुस्ता जानुअघि मन्त्री पुनले त्रिवेणीस्थित नेपाली गण्डक नहरको स्थलगत निरीक्षण गरेका थिए ।