चितवन विशेष
नवकृषक दुग्ध सहकारीको साधारणसभा

चितवन, कार्तिक २–
नवकृषक दुग्ध उत्पादक सहकारी भरतपुर महानगरपालिका–८ पारसनगरको २० औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नंं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र चितवनका प्रमुख दयाराम चापागाईं, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले, भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी विकास शाखा प्रमुख मेघराज ढकाल विशिष्ट अतिथि रहेका थिए ।
कृषकहरूको समृद्धिले समाज रूपान्तरणमा ठूलो भूमिका खेल्ने भएकाले कृषकलाई सानो आक्न नहुने प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा बताए । आफू जहिले पनि कृषककै पक्षमा रहेको र कृषकहरूको हक हितका लागि आफू लागिरहने उनले बताए । कार्यक्रममा टाढाबाट दूध ल्याउने कृषक, आदिवासी दूध संकलक कृषक, दलित दूध संकलक कृषक, सफा दूध संकलन गर्ने कृषक, कृषकका २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक÷एक जना छोराछोरीलगायतलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा लेखा संयोजक हरिकृष्ण भट्टराईले लेखा प्रतिवेदन, अध्यक्ष शिवप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा कृषकका तर्फबाट रमा खनाल अधिकारी, ईन्द्रप्रसाद घिमिरे, दिवाकर उपाध्याय पौडेल, महानगरीय दूध डेरीका तर्फबाट बैकुण्ठ पौडेल, सुजल डेरीका चितवन ईन्चार्ज शोभाबहादुर अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।






















