चितवन विशेष

कालिका म्युजिक अवार्डः लाईफ टाईम अचिभमेन्ट अवार्ड निर शाहलाई

Banner

भरतपुर,असोज ३०-

कालिका मिडिया ग्रुपले आयोजना गरेको ‘कालिका म्युजिक अवार्ड’मा यसपटक ‘छक्का पञ्जा ३’ फिल्मको गीत ‘पहिलो नम्बरमा’ले ह्याट्रिक गरेको छ । यस गीतले सर्वोत्कृष्ट चलचित्र महिला गायन तर्फबाट विन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दिपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको छ । ‘पहिलो नम्बरमा’ गीतको रचना राजेन्द्र थापाले गरेका थिए ।

कालिका मिडियाले बिहीबार १७ औँ वार्षिकोत्सव अवसरमा १५औँ म्युजिक अवार्ड वितरण गरेको हो । मिडियाले लाइफटाइम अचिभमेन्टसहित ३१ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरेको छ । विभिन्न ३० विधामा यसअघि छनौटमा परेका १ सय ५० गीत रचनाहरु मध्येबाट सर्वाधिक मन पराईएका हरेक विधाका एक÷एक सृजनाहरुलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाले जानकारी दिएको छ ।

वर्षको सर्वोत्कृष्ट बनेको पहिलो नम्बरमा गीतको अवार्ड गायक डेविड शंकर र विन्दु परियारलाई प्रदान गरिएको थियो । चलचित्र गायनमै पुरुषतर्फ ‘फूल होईन’ गीतका लागि प्रदाप दासले अवार्ड थापे । सर्वोकृष्ट चलचित्र गीतकारतर्फ चलचित्र ‘क्याप्टेन’का गीतकार दिग्गज धरौलीले अवार्ड हात पारे ।

सर्वोत्कृष्ट भिडियो अभिनयमा ‘इन्स्टाको फोटो’बाट आशिफ शाहा र महिलातर्फ ‘इन्स्टाको फोटो’ गीतबाट नै रेश्मा घिमिरेले अवार्ड प्राप्त गरिन् । भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुस्लिङले, निर्देशनमा अशिम शाहले अवार्ड हात पार्दा सर्वोत्कृष्ट सिनेमटोग्राफरमा ‘मेरो भागको’ तर्फबाट बुद्ध थापाले अवार्ड पाए ।

सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टिका प्रसाईले अवार्ड बुझे । त्यस्तै सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड आशिष अबिरलले हात पारे । सर्वोत्कृष्ट आधुनिक गीत गायनमा पुरुषतर्फ शिव परियारको ‘मेरो भाग्यको खुसी’ र महिलाफर्त दिपा लामाले ‘कुर्दैछु म’ बाट अवार्ड हात पारे । आधुनिक गीतको संगीततर्फ ‘पिरिम नलाउने’ बाट दिपक शर्मा र शब्दतर्फ ‘त्यो सपना’ बाट होमनाथ न्यौपानेले अवार्ड प्राप्त गरे ।

सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘सानी’ गीतबाट बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पखाईमा’ बाट अनामिका मल्लले अवार्ड पाए । पप गीतसंगीत तर्फ पनि ‘सानी’कै गीतबाट अशुसेन लामा र सर्वोत्कृष्ट शब्दतर्फ ‘कवि देवकोटा’ बाट गीतकार एकनारायण भण्डारीले अवार्ड पाए ।

सर्वोत्कृष्ट ब्यान्डतर्फ अभया एण्ड दी स्टीम ईन्जिले अवार्ड थाप्यो । त्यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’ बाट सन्दीप न्यौपाने र महिलातर्फ ‘गल्बन्दी’बाट शान्ति श्री परियारले अवार्ड पाए । लोकदोहोरी गीतको शब्द संकलनतर्फ रमेश बिजीले ‘छोरो अमेरिका छ’ बाट अवार्ड हात पारे । लोकदोहोरी संगीतमा ‘सालको पात’ बाट बसन्त थापा र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले अवार्ड लिए । त्यस्तै सर्वोत्कृष्ट मध्य नेपाल गायनमा ‘म तिम्लाई मायाँ गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा देवेन्द्र बब्लुले ‘कसरी’ गीतबाट अवार्ड हात पारे । सर्वोत्कृष्ट गजलमा ‘चुप चाप छौ तिमी’बाट आन्नद कार्की र सर्वोत्कृष्ट राष्ट्रिय गीतमा सुमित खड्काले हात पारे ।

लाईफ टाईम अचिभमेन्ट अवार्ड निर शाहलाई

कालिका मिडियाको १५ औँ कालिका म्युजिक अवार्डको लाईफटाईम अचिभमेन्ट अवार्ड वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार निर विक्रम शाहालाई प्रदान गरिएको छ । हरेक वर्ष प्रदान गर्दै आएको लाईफटाईम अचिभमेन्ट अवार्ड बिहीबार नारायणी कला मन्दिरमा प्रदान गरिएको हो । नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा सिंगो जिवन समर्पण गर्नुका साथै नेपाली टेलिभिजन युगको सुरुवात गरेबापत उनलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाले जानकारी दिएको छ । अवार्डका प्रमुख अतिथि समेत रहेका शाहाले यो अवार्डले आफू भन्दा पनि आफ्नो पेशा सम्मानित भएको बताए । कार्यक्रममा शिव परियार, प्रताप दास, टिका प्रसाई, सिता सुवेदी, पुजन भट्टलगायतले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>