चितवन विशेष

राप्ती महोत्सव भोलिदेखि, प्रचण्डले समुद्घाटन गर्ने

Banner

चितवन, असोज २९–

पूर्वीचितवनको राप्ती नगरपालिकामा पहिलोपटक आज (बिहीबार)देखि ‘राप्ती महोत्सव–२०७६’ हुँदैछ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले बुधबार पत्रकार सम्मेदलन मार्फत जानकारी दिएको छ । महोत्सवका मुल समारोह समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले बिहीबार दिउँसो १ बजे पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने जानकारी दिए । उद्घाटन समारोहको ब्यवस्थापन, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारीसमेत पुरा भइसकेको उनले बताए ।

महोत्सव उद्घाटन अघि राप्ती नगरपालिकाको कार्यालय भण्डाराबाट खुरखुरे हुँदै वीरेन्द्रनगरसम्म शोभा यात्रा निकालिनेछ । शोभा यात्रामा विभिन्न जातजातिको भेषभुषा, कला सँस्कृति प्रदर्शन गरिनुका साथै सयौँ संघ संस्थाको सहभागिता रहनेछ । उद्घाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका मन्त्री तथा सांसदहरुको समेत सहभागिता रहने छ ।

महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्रथामिकता दिइएको आर्थिक समिति संयोजक मार्कन्डेय गौतमले जानकारी दिए । मह, दूध, माछालगायत कृषिजन्य उत्पादनको प्रवद्र्धनमा महोत्सवले जोड दिएको छ । रेशम खेतीको प्रवद्र्धनका लागि छुट्टै स्टलसमेत राखिएको छ । त्यस्तै चेपाङ, मगर र थारु समुदायको साँस्कृतिक घरहरु महोत्सवको थप आकर्षण हुने कला तथा सास्कृतिक संयोजक प्रदिप उप्रेतीले बताए । उनले दर्शकको आकर्षणका लागि राष्ट्रियस्तरका चर्चित कलाकारहरु बद्री पंगेनी, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, दुर्गेश थापा, मनोज गजुरेल, कमला घिमिरेलगायतको प्रस्तुति रहने जानकारी दिए ।

महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि सेल्फी जोनको समेत व्यवस्था गरिएको छ । नगरभित्रका पर्यटकिय स्थलहरुको आकर्षक तस्वीरहरुसहित सेल्फी जोनको निर्माण गरिएको संयोजक कँडेलको भनाई छ । २५० वटा स्टलहरु रहने महोत्सवमा राप्ती नदीमा डुङगा सयर, पर्यटकिय स्थलहरुमा जीप सफारीको व्यवस्था समेत गरिएको छ । महोत्सवमा चेपाङ समुदायको परिचय खुल्ने गरी आएमा ४० रुपैयाँमा टिकट उपलब्ध गराइने बताइएको छ । अन्यलाई ६० र विद्यार्थीलाई ४० रुपैयाँ टिकट दर तोकिएको छ ।
यसैबीच महोत्सवको प्रचारका लागि बुधबार मोटरसाइकल र्‍याली निकालिएको छ । महोत्सव स्थल वीरेन्द्रनगरदेखि लोथरसम्म महोत्सवको बारेमा जानकारी गराउँदै बृहत र्‍याली निकालिएको प्रचारप्रसार समिति संयोजक दिनेश सेढाईले जानकारी दिए ।

‘कृषि पर्यटन, उद्योग र ब्यापार, राप्ती विकासको मुल आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघ महोत्सवको आयोजकको रुपमा रहेको छ । महोत्सवले समग्र नगरको सम्बृद्धि र पर्यटन प्रवद्र्धनमा मद्धत पुर्‍याउने विश्वास लिइएको छ । महोत्सव विशुद्ध नाफा कमाउने उद्धेश्यले नभई नगरपालिकाको कृषि तथा पर्यटन सम्वृद्धिको लागि आयोजना गरिएको संयोजक कँडेलको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>