चितवन विशेष
भरतपुरमा आजबाट फोरजी सेवा सुरु, मोबाइलमा डबल स्पिडमा इन्टरनेट चल्ने

चितवन, असोज १५-
नेपाल टेलिकमले आजबाट भरतपुरमा फोरजी सेवा सुरु गरेको छ ।
मोबाइलमा डाटा लिएर इन्टरनेट चलाउनेहरुलाई थ्रिजीकै शुल्कमा फोरजी सेवा उपलब्ध गराएको हो । सुरुमा १० वटा टावरबाट मात्र वितरण गरिएको यो सेवा क्रमशः पूरा चितवननै ओगट्ने गरी १०० वटा टावरहरुबाट नै उपलब्ध गराउने नेपाल टेलिकम भरतपुरमा प्रमुख दिपक कुमारले नारायणी अनलाइनलाई जानकारी दिए ।
प्रमुख कुमारका अनुसार टेलिकमको वार्षिक योजनाअनुसार यो सेवा वितरण गरिएको हो । उनले भने, ‘ सेवाग्राहीलाई धेरै गुणस्तरीय सेवा दिनको लागि यो सेवा सुरु गरिएको हो । यसबाट इन्टरनेट निकै द्रुत गतिमा चल्छ ।’
नेपाल टेलिकमले भरतपुरलगायत ३२ वटा सहरबाट यो सेवा एकैसाथ सुरु गरेको छ । नेपाल टेलिकम भरतपुरले जनाएअनुसार फोरजी सेवा राम्रोसँग चलाउनको लागि दुई वर्षभन्दा पुरानो सिमकार्ड छ भने परिवर्तन गर्नुपर्ने हुन्छ । फोरजीबाट इन्टरनेट चलाउँदा फोटो छिटो खुल्ने, भाइबर, म्यासेन्जर, युट्युब र स्काइप चलाउँदा नरोकिने सजिलै फाइल खुल्ने हुन्छ ।






















