अर्थ

चितवनमा आजबाट नयाँ नोट साट्न सुरु, बैंक अगाडि सर्वसाधरणको घुइँचो

Banner

चितवन, असोज १४–

चितवनमा आज (मंगलबार)बाट नयाँ नोट साट्न सुरु भएको छ ।

गत वर्ष सरकारी बैँकहरुले मात्र बाँड्ने गरेको नयाँ नोट यसवर्ष सरकारीका साथै निजी बैँकहरुले पनि साटी रहेका छन् । राष्ट्रिय वाणिज्य बैँक भरतपुरले आज १० बजेबाट दिउँसो दुई बजेसम्म नोट बाड्ने जनाएको छ । नयाँ नोट साट्नका लागि सर्वसाधरणहरुको विहानैदेखि राष्ट्रिय वाणिज्य बैंक अगाडि घुइँचो लागेको छ ।

बैकका प्रबन्धक ईन्द्रविलास न्यौपानेले आज (मंगलबार)देखि तीनदिनसम्म नयाँ नोट बाड्ने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘मोटामोटी तीन दिनसम्म नोट बाँड्ने तयारी गरिएको छ । दुई दिनमा पनि सकिन सक्ने सम्भावना छ ।’ उनले एक जनालाई १८ हजार पाँचसय मात्र लिन पाउने गरी नोट साटिने जानकारी दिए ।

त्यसैगरी यसवर्ष राष्ट्र बैँकबाट चितवनका निजी बैँकहरुले पनि नयाँ नोट ल्याएका छन् । गण्डकी विकास बैँकका क्षेत्रीय प्रबन्धक सुरज शर्माले चितवनमा रहेका १२ वटा शाखाबाट प्रति ग्राहक पाँच हजारको दरले नयाँ नोट साट्न सुरु भएको नारायणी अनलाइनलाई जानकारी दिए ।

शुक्रबारदेखि काठमाडौँसहितका तोकिएका काउन्टरबाट नयाँ नोट सटही सुरु भए पनि चितवनमा भने चार दिन ढिला सुरु भएको हो । यसका साथै राष्ट्र बैंकले नयाँ नोटको सटहीसँगै नोटको जतनमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । नयाँ नोट लिने धेरैलाई नोटको जतन गर्नुपर्छ भन्ने थाहा भए पनि त्यसमा खासै ध्यान नदिएको राष्ट्र बैंकले जनाएको छ ।

नोट जतन गर्न नोटलाई चिसो हातले नछुने, नकोर्ने, रंग नलगाउने र नोटलाई ‘मनी ब्याग’मा मिलाएर राख्न बैँकको सुझाव छ । यसो गर्दा नोट लामो समयसम्म नयाँ नै रहन्छ र सोही नम्बरका नोट छपाइ रहन पर्दैन । यसले नोट छपाइमा राज्यले खर्च गर्नुपर्ने व्यभार कम हुन जान्छ । यदि कसैले नोटमा रंग लगाएमा कानुन बमोजिम ३ वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>