खेलकुद
देवघाटमा फुटबल प्रतियोगिता हुने

चितवन, असोज १२–
देवघाट युवा तथा खेलकुद समितिको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान् चाड बडा दशैँको उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगिता दुई प्रकारका छन् । देवघाट गाउँपालिका अन्तरगत रहेको सामुदायिक वनका बीच पुरुष फुटबल प्रतियोगिता र देवघाट गाउँपालिका भित्रका ३५ वर्ष भन्दा माथिका पुरुषबीच भेटेरान फुटबल प्रतियोगिता हुनेछ ।
यहि असोज १४ गतेबाट सुरु हुने फुटबल प्रतियोगिताका लागि करिब एक लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सामुदायिक वन बीच हुने पुरुष प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः १० हजार, सात हजार र पाँच हजार राखिएको छ । त्यस्तै भेटेरान फुटबल प्रतियोगिताको विजेतालाई भने आकर्ष पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अनिल मिश्रले जानकारी दिए ।
शुभकामना आदानप्रदानका साथै भाईचारा विकासका लागि प्रतियोगिता आयोजना गरिएको देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङले बताए । प्रतियोगिता असोज १६ गतेसम्म संचालन हुनेछ ।
























