चितवन विशेष
चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको साझा पार्टीद्वारा भत्सर्ना

चितवन, असोज १२-
साझा पार्टी चितवनले शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण निन्दनीय कार्य भएको जनाएको छ ।
पार्टीका संयोजक भूपेन्द्र बस्नेतले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि नागरिकले संविधान प्रदत्त हक प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार भएको जनाइएको छ । सार्वजनिक रुपमा आफ्ना दृष्टिकोणहरू राख्न चितवन आएका ज्ञानेन्द्र शाहीमाथि उनको संवैधानिक अधिकारमाथि नै धावा बोल्ने र डरधम्की देखाउने उद्देश्यकासाथ निर्घात कुटपिट गर्नुलाई साझा पार्टीले अत्यन्तै निन्दनीय कार्यको रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिक स्वतन्त्रता र सुरक्षा सरकारको प्राथमिक दायित्व हो । कसैको गतिविधि गैरकानुनी छ भने राज्यका निकायले विधिसम्मत तवरले कारबाही गरिनु पर्छ । तर, फरक विचार कै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी र कुटपीटले लोकतन्त्रको धज्जी उडाएको छ ।’
पार्टीले आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह पनि गरेको छ । पार्टीले सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ सहितको गैरकानुनी र उदण्ड व्यवहारलाई सरकारले बेलैमा नियन्त्रण गर्न समेत सचेत गराएको छ ।






















