समाज
निजी मेडिकल कलेज आफैं चलाउन सरकारलाई अनेरास्ववियूको माग

काठमाडौं,असोज ९-
सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं संचालन गर्न आग्रह गरेको छ। निजी मेडिकल कलेज संचालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई सांचो वुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आह्वान गरेको हो ।
आज अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन् -राज्यको नीति नियममा वसेर सांच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं संचालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई संचालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं ।
महरले अनेक घुर्की,धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णय वमोजिम वढि लिएको पैसा फिर्ता गरि तत्काल भर्ना प्रक्रिया अघि वढाउन निजी मेडिकल कलेजहरुलाई कडा चेतावनी दिएका छन् ।
























