विचार/ब्लग

भारतीय हस्तक्षेप रोक्नको लागि सी विचारधारा सकारात्मक

Banner

मोहनविक्रम सिंह

चीनको कम्युनिस्ट पार्टीको सहभागितामा नेकपाले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसले कैयौ दृष्टिले महत्व राख्दछ । त्यस सिलसिलामा सर्वप्रथम र सुरुमा नै एउटा कुरा प्रष्ट गर्न चाहन्छु । ती दुवैको माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरुबाट बिचलन भइसकेको छ र त्यसकारण ती दुबै कम्युनिस्ट पार्टीहरु होइनन् । सीको विचारधारा भनेर जुन कुराको उल्लेख गरिएको छ, त्यसले माओको क्रान्तिकारी लाइनको होइन, तर देङ्गको दक्षिणपन्थी लाइनको प्रतिनिधित्व गर्दछ । त्यसैले सामान्य प्रकारले हेर्दा नेकपा र चीनको कम्युनिस्ट पार्टीको बीचमा मुलभूतरुपमा वैचारिक समानता छ । त्यो दुवै दक्षिणपन्थी संशोधनवादी लाइनको समानता हो । त्यसकारण सैद्धान्तिक दृष्टिकोणले ती दुवै संगठनको वा उनीहरुले आयोजना गरेको प्रशिक्षण कार्यक्रमले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि कुनै महत्व राख्दैन । तैपनि त्यो प्रशिक्षण कार्यक्रमले कुनै महत्व राख्दैन भन्ने पनि होइन । त्यसको आफ्नै महत्व छ ।

हामीले यसका लागि नेकपालाई धन्यवाद दिनुपर्छ कि उनीहरुले आफ्ना कार्यकर्ताको प्रशिक्षणका लागि लगातार प्रयत्न गर्ने गर्दछन् । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकीकरण हुनुभन्दा पहिले पनि देशव्यापीरुपमा नै त्यसप्रकारका कार्यक्रमको आयोजना गर्ने गर्दथे । अहिले पनि त्यसप्रकारका कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले दक्षिणपन्थी संशोधनवादी दिशा समातेका छन् । तर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा समाजवादी अवधारणासित उनीहरुले पूरै सम्बन्ध तोडिसकेका छैनन् । त्यसले गर्दा राजनीतिक वा व्यवहारिकरुपमा दक्षिणपन्थी संशोधनवादी बाटो समातेका भए पनि सैद्धान्तिकरुपमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक पक्षलाई कमसे कम वाह्य रुपमा पूरै छाडेका छैनन् । त्यसकारण उनीहरुको प्रशिक्षणले कार्यकर्ताको सैद्धान्तिकस्तरलाई माक्सवादी–लेनिनवादी पक्षमा उठाउनको लागि केही न केही योगदान दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । जे होस् उनीहरुको कार्यकर्तालाई प्रशिक्षित गर्न लगातार प्रयत्न गर्ने नीति सकारात्मक छ ।

नेकपाको प्रशिक्षण कार्यक्रमले राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्छ । नेपालमाथिको भारतीय साम्राज्यवादको लगातारको हस्तक्षेप र अतिक्रमणका विरुद्ध सन्तुलन कायम गर्नका लागि चीनसँगको सम्बन्धले मद्दत पु¥याउने कुरामा हामीले लगातार जोड दिँदै आएका छौं । हाम्रो यो स्पष्ट धारणा छ कि चीनको कम्युनिस्ट पार्टीको माक्र्सवादी—लेनिनवादी सिद्धान्त वा समाजवादी उद्देश्यबाट बिचलन भइसकेको छ । अब त्यहाँ समाजवादी व्यवस्थाको पतन भएर पूँजिवादको पुनस्र्थापना भइसकेको छ । यो सत्य हो कि आज चीनमा धेरै नै विकास भएको छ र त्यसले अमेरिकासित प्रतिस्पर्धा गर्दैछ ।

तर, कुनै देशमा उच्चतम्रुपमा विकास हुनुको अर्थ नै समाजवाद हुँदैन । त्यसो हुने भए हामीले अमेरिकामा वा अन्य विकसित पूँजिवादी देशलाई पनि समाजवादी भन्नुपर्ने हुन्थ्यो । आज चीनमा जे—जति विकास भएको छ, त्यसको प्रकृति पूँजिवादी प्रकारको छ र अब त्यसले साम्राज्यवादी रुप लिइसकेको छ । त्यसरी अब चीन र भारत दुवै साम्राज्यवादी देशहरु भएका छन् । तर, ती दुवै साम्राज्यवादी देशहरु भए पनि चीनसितको सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्छ । त्यो अवस्थामा अहिले चीनका सिद्धान्तविद् र नेताहरु समेतको सहभागितामा हुन थालेको नेकपाको प्रशिक्षण कार्यक्रमले माक्र्सवादी–लेनिनवादी दृष्टिकोणले महत्व नभए पनि त्यसले चीनसितको नेपालको सम्बन्धको विस्तारमा मद्धत पु¥याएमा नेपालका लागि त्यो सकारात्मक महत्वको कुरा हुनेछ । नेपालको चीनसितको सम्बन्ध बढाउन केही वातावरण तयार पारे पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।

कतिपय पक्षले अहिलेको प्रशिक्षण कार्यक्रममा सी विचारको समेत प्रशिक्षण राख्नु वा कतिपय चिनियाँ नेताहरुले समेत प्रशिक्षण दिने व्यवस्था गर्नु नेपालको राष्ट्रियताका विरुद्धको कुरा हो भनेर आलोचना गरेका छन् । त्यस्तो सोचाइलाई हामीले सही मान्दैनौं । कुनै पनि प्रशिक्षण कार्यक्रममा कैयौं विदेशी सिद्धान्त, दर्शन वा विचारको अध्ययन गर्ने वा प्रशिक्षण दिने काम गरिन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हाम्रो स्वदेशी सिद्धान्त नभएर विदेशी सिद्धान्त हो ।

माक्र्स, एङ्गेल्स र लेनिनसमेत विदेशी थिए । तर, त्यो कारणले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको महत्व कम हुन्न । संसदीय प्रणाली नै नेपालमा विकसित भएको प्रणाली होइन र त्यो विदेशी हो । तर, त्यो कारणले त्यसको महत्व कम हुँदैन । त्यसकारण नेकपाको प्रशिक्षणमा सी को विचारधारा समेतको प्रशिक्षण दिने वा चिनियाँ नेताहरु समेतले त्यसमा प्रशिक्षण दिने कार्यक्रम बनेको हुनाले त्यही कारणले त्यसलाई गलत ठह¥याउनु सही हुन्न । निश्चय नै त्यसको अर्थ सी विचारलाई समर्थन गर्नु र त्यसलाई महत्व दिनु होइन र हुन्न ।

हामीले आफ्नो पार्टी स्कूलमा पनि कैयौँ विरोधीहरुका सिद्धान्तहरुबारे पनि प्रशिक्षण दिने गर्दछौं । त्यस क्रममा कैयौं देशी वा विदेशी विचारको अनुशरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं र तिनीहरुको प्रशिक्षण दिन्छौं । यदि विदेशी विचारको प्रशिक्षणलाई गलत ठह¥याउने नै हो भने हामीले नेपालसित सम्बन्धित विषय बाहेक कुनै विदेशी सिद्धान्त, विचारधारा वा दर्शनबारे प्रशिक्षण दिनु भएन । चीनको कम्युनिस्ट पार्टीको माक्सवादी—लेनिनवादी सिद्धान्तबाट विचलन भएको कुरा सत्य हो । त्यसकारण अब त्यो कम्युनिस्ट पार्टी रहेन । तर, त्यसको संगठन प्रणाली वा अनुशासन पद्धतिबाट हामीले धेरै सिक्न सक्छौं र सिक्नुपर्छ । भारतमा राष्ट्रिय स्वयसेवक सङ्घ (आरएसएस) को सङ्गठनात्मक प्रणाली अनुशासित छ । त्यसप्रकारको संगठनमा आवद्ध भएर नै भारतका कैयौं नेताहरु पैदा भएका छन्, जस्तै कि अटलविहारी बाजपेयी, आडवानी, मोदी आदि । वास्तवमा भारतमा भाजपाको विजयका पछाडि पनि आरएसएस वा त्यसले तयार पारेका कार्यकर्ताहरुको ठूलो योगदान रहेको छ । त्यही प्रकारले चीनको पार्टी वा त्यसको नेतृत्वको सरकारले विकासको क्षेत्रमा जुन ठुला उपलब्धिहरु प्राप्त गरिरहेको छ, त्यसका पछाडि त्यहाँको कम्युनिस्ट पार्टीको व्यवस्थित संगठन प्रणाली र अनुशासनको पद्धतिले पनि काम गरेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यसको तुलनामा अहिले नेकपाको संगठन र अनुशासनको प्रणाली कति खुकुलो छ ? आमरुपमा थाहा भएको कुरा हो । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको संगठनात्मक प्रणालीबाट पनि सिक्ने प्रयत्न ग¥यो भने त्यो उनीहरुको लागि धेरै राम्रो हुन सक्नेछ ।

कुनै समाज वा संगठन जति उन्नत हुँदै जान्छ, त्यसको आन्तरिक संगठन वा अनुशासन पनि त्यति नै उन्नत हुँदै जान्छ । सामन्तवाद र पूँजिवाद बीचको अन्तरमाथि नै विचार गरौं । सामन्तवादी व्यवस्थाको तुलनामा पूँजिवादी प्रणाली धेरै नै संगठित र अनुशासित हुन्छ । त्यसप्रकारको अनुशासनबिना पूँजिवादी उत्पादन प्रणाली सम्भव हुँदैन । कुनै व्यापार वा उद्योगमा जति बढी कुनै व्यवस्था वा अनुशासन हुन्छ, त्यसका त्यति नै बढी परिणामहरु हुन्छन् । त्यही कुरा कुनै राजनीतिक पार्टीबारे पनि सत्य हो ।

कुनै राजनीतिक पार्टी जति बढी संगठित र अनुशासित हुन्छ, त्यसले त्यति नै बढी सफलता प्राप्त गर्न सक्छ । त्यसैले चीनमा भइरहेको तीव्र गतिको विकासका पछाडि पनि त्यहाँको कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका भएको वा त्यसभित्र व्यवस्थित संगठनात्मक प्रणाली वा अनुशासन रहेको कुरालाई बुझ्न सकिन्छ । कुनै पार्टी वा कुनै राज्य, समाज, पार्टी वा संघ—संस्थामा अनुशासनको कडी टुट्यो भने त्यो भताभुङ्ग हुँदै जान्छ । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको संगठनात्मक प्रणाली वा अनुशासनको पद्धतिबाट जुन सिक्ने प्रयत्न गरेको छ, त्यो प्रशंसनीय छ । तर, त्यसबाट उनीहरुले संगठनभित्रको अस्तव्यस्तता वा अव्यस्ततालाई कतिसम्म सुधार्न सक्ने छन् ? त्यो आउने दिनमा नै थाहा हुने छ । बताइरहनु पर्ने आवश्यकता छैन कि चीनको कम्युनिस्ट पार्टीभित्रको संगठनात्मक प्रणाली र अनुशासनलाई हामीले पनि अध्ययन गर्नुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ ।

चीनको पार्टीबाट सिक्ने कुरा गर्दा कतिपय व्यक्तिलाई नराम्रो पनि लाग्न सक्दछ । एउटा दक्षिणपंथी संशोधनवादी पार्टीबाट सिक्ने ? तर माक्र्सवादी–लेनिनवादी सिद्धान्तले त्यसरी सिक्नेबारे कट्टरपन्थी दृष्टिकोणलाई अपनाउँदैनन् । माक्र्सले हेगेलबाट – जो अध्यात्मवादी, प्रतिक्रियावादी वा राजतन्त्रवादी दार्शनिकबाट द्वन्द्ववादको सिद्धान्त ग्रहण गरेका थिए । लेनिनले पूँजिपतिबाट बिजनेसको कुशलता र इसाइहरुबाट आफ्नो कर्तव्यप्रति पूरै समर्पित भएर काम गर्ने स्पिट सिक्नुपर्ने कुरामा जोड दिएका छन् । लेनिनले पार्टी संगठनको सिलसिलामा पार्टीको अनुशासन मिलिटरीको जस्तो हुनुपर्ने कुरामा जोड दिएको छ । त्यसरी उनले पार्टीको अनुशासनलाई मिलिटरिएट अनुशासन पनि बताएका थिए । त्यही सन्दर्भमा हामीले चीनको कम्युनिस्ट पार्टी वा आरएसएसको संगठनात्मक प्रणालीबाट सिक्नुपर्ने कुरामा जोड दिन्छौं भने त्यो सोचाइलाई गलत भन्न मिल्दैन ।

कतिपय पक्षहरुले नेकपाको प्रशिक्षणमा चिनियाँ नेताको उपस्थिति र उनीहरुद्वारा प्रशिक्षण दिने कार्यको विरोध गरिरहेका छन् । त्यसका पछाडि वास्तवमा राजनीतिकरुपले चीनसितको सम्बन्ध विस्तारप्रतिको पूर्वाग्रहले नै बढी काम गरेको छ । भारतीय साम्राज्यवादले नेपालको चीनसितको सम्बन्ध विस्तारको कडा विरोध गर्दछ र नेपाल सरकारमाथि सधै त्यसका लागि दबाब दिंदै आएको छ । नेपालका भारतपरस्त तत्वहरुले पनि चीनसितको सम्बन्ध विस्तारको सधै विरोध गर्दै आएका छन् । कतिपय राजनीतिक पार्टीले अहिले नेकपाको प्रशिक्षणमा चीनको पार्टीको सहभागितालाई विरोध गरिरहेका छन्, त्यसको पछाडि पनि त्यसप्रकारको भारतपरस्त दृष्टिकोणले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसको विपरित, हाम्रो के सोचाइ छ भने अहिलेको प्रशिक्षणको कार्यक्रमले पनि नेपालको चीनसितको सम्बन्धको विस्तारलाई केही मद्दत पु¥याउँछ भने र त्यसले भारतीय साम्राज्यवादको नेपालमाथिको हस्तक्षेप वा अतिक्रमणको विरुद्ध सन्तुलन कायम गर्न केही मद्दत पु¥यायो भने पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>