चितवन विशेष

दरै बचत तथा ऋण समूहको पहिलो साधारण सभा

Banner

शनिबार, असोज ३-

‘समृद्ध समाज, सुखी दरै, बचत गरौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित स्थापना भएको दरै बचत तथा ऋण समूह चितवनको आज पहिलो साधारण सभा भएको छ ।

बालबचत सदस्य आरोन दराईले गमलामा पानी हाली उद्घाटन गरेको कार्यक्रममा समूहका उपाध्यक्ष बिन्दु दराईले स्वागत मन्तव्य राखेकी थिइन् । उनले दराईले आर्थिक पक्षमा सक्षम भएमात्र समुदायको पनि उत्थान हुने भन्दै सबै दराई समुदायलाई समूहमा आबद्ध हुन आव्हान गरिन् ।

कार्यक्रममा समूहका अध्यक्ष मंगलराम दराईले सिंगो चितवनको दराई समूदायको मुहार फेर्नको लागि एक वर्ष अगाडि दरै बचत तथा ऋण समूहको स्थापना गरिएको बताए । नेपालका ५९ वटा सूचिकृत आदिवासी जनजातिहरु मध्ये दराई जाति अल्पसंख्यक समूह र अति विपन्न समूहमा पर्ने उनले बताए । नेपालको चितवन, तनहँु, नवलपरासी, पाल्पा, गोरखा, धादिङ, बाके, बर्दिया, रुपन्देही, मकवानपुर, झापा, सुनसरी, स्याङ्जा, लमजुङ, गरी १४ वटा जिल्लामा र भारतको वाल्मीकि अर्थात् ठाडीमा दरै समूदायको बसोबास रहेको उनले जानकारी दिए ।
सबै भन्दा धेरै चितवनमा दराई समुदायको बसोबास रहेको उनले बताए । चितवनको आदिवासी जनजातिहरु मध्ये दोस्रो मुलवासीको रुपमा दराईलाई लिने गरेको पनि उनले जानकारी दिए । पुरानै शैलीको कृषिमा आधारित दराई समुदायको स्थिति दयनिय हुँदै गएको भन्दै सहकारीको मूल्य, मान्यता र सिद्धान्तहरुमा आधारित भई समूहको स्थापना भएको थियो । आर्थिक सामाजिक रुपान्तरण गर्न नेपाल दरै उत्थान समाज चितवनको लामो पहलमा २०७५ साल ज्येष्ठ ७ गते भरतपुर–१२ नौरङेमा बुद्धिजीवीको भेलाबाट चितवन जिल्ला कार्य क्षेत्र हुने गरी दरै बचत तथा ऋण समूह खोलिएको कार्यक्रममा सहभागीहरुले बताए ।

समूहका सचिव लक्ष्मण दराईले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नौरङ्गेमा पहिलो भेला भई मंगलराम दराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति स्थापना भएको बताए । यस्तै कार्यक्रममा कोषाध्यक्ष राजेन्द्र दराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा समूहमा हालसम्म ३८ लाख ५९ हजार ४६९ रुपैयाँ ४८ पैसा जम्मा रकम रहेकोमा ४७ लाख ७३ हजार ९०६ रुपैयाँ ऋण लगानीमा गएको जानकारी दिएका छन् । संस्थामा संस्थापक र एक बालबचत गरी जम्मा ४३६ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा नेपाल दरै उत्थान समाज चितवका अध्यक्ष रामबहादुर दराई, केन्द्रीय सचिव रामु दराई, नेपाल दराई उत्थान समाज चितवनका पूर्वसचिव नोमे दराई, इन्जिनियर विजय दराई, कानुनी सल्लाहाकार शिव दराई, पूर्वकोषाध्यक्ष रेशम दराई, सदस्यहरु आनन्द दराई, खुबलाल दराई, सन्त बहादुर दराई, अशोक दराई, मंगलराज दराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>