चितवन विशेष

चितवन मेडिकल कलेजको करोडौ अवैध असुलीः विद्यार्थीमाथि शोषण, प्रहरीको दमन

Banner

चितवन,भदौं २६-

चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ । अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन  । तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ । बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ ग¥यो । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् ।

एप्रोन लगाएका विद्यार्थीले बुधवार दिनभर प्रहरीको हिरासत भरियो  । कलेजमा एमबिबिएस अध्ययनरत प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पनि पक्राउ परे । राति अबेर मात्र उनिहरुलाई रिहा गरिएको संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए । ‘अवैध रूपमा उठाइएको शुल्क फिर्ता गर्नुपर्छ भनेर देशभर आन्दोलन छ, चितवन मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको छ । त्यस्तो शुल्क फिर्ता गर्नुपर्छ भन्दा सरकारले उल्टै हामीमाथि दमन गर्दै छ,’ उनले भने ।

एमबिबिएसका विद्यार्थीसँग तोकेभन्दा बढी शुल्क असुल्ने कलेजलाई नियमन गर्नुको सट्टा सरकार न्यायका लागि संघर्ष गरिरहेका पीडित विद्यार्थीमाथि नै दमनमा उत्रिएको छ । नियम नमान्ने कलेजबाट ठगिएका विद्यार्थी न्यायका लागि आवाज उठाउँदा अन्यायमा परेका छन ।
सरकारले काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले तोकेभन्दा लाखौँ बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ । निजी मेडिकल कलेजहरूले नेपाली विद्यार्थीसँग फरक–फरक शुल्क असुलेका छन ।

त्रिवि चिकित्साशास्त्र संकायका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल सरकारले तोकेको शुल्कमा ट्युसन, ल्याब, लाइब्रेरीदेखि सबै शुल्क समावेश गरिएको बताउँछन । ‘विद्यार्थीको बसोवास, खाना, विश्वविद्यालय र काउन्सिललाई तिर्नुपर्ने शुल्कबाहेक केही पनि लिन पाइँदैन,’ डिन अग्रवालले भने । तर, कतिपय मेडिकल कलेजले दर्जनौँ शीर्षकमा उठाउँदा पनि नपुगेर ‘अन्य’ शीर्षक राखेरसमेत लाखौँ असुलेका छन । चर्को शुल्क असुल्नेमा वीरगन्जको नेसनल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज र काठमाडौंको किस्ट मेडिकल कलेज छन । नयाँ पत्रिका दैनिकले आजको अंकमा यो समाचार प्रकाशन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>