चितवन विशेष
भरतपुरको फोहर नारायणीमा फाल्न स्थानीयले रोके,मेयरले अपमान गरेको आरोप

चितवन,भदौं २४-
भरतपुर महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नः ३ का स्थानीयले नगरवन क्षेत्रबाट नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन् । आज विहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए । महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय जनतालाई हेपेर व्यवहार गरेकोले नदी किनारमा फोहर फाल्न नदिइएको संयोजक श्रेष्ठले बताए ।
‘हामी हिजो महानगरपालिकामा गएर आफ्ना गुनासा राख्दा महानगरपालिका प्रमुख दाहालले हेप्नुभयो, केही हैनन् जस्तो गरेर कुरा गर्नुभयो, फोहर रोकेर देखाउन चुनौती दिनुभयो ।’ संयोजक श्रेष्ठले भने, ‘रोकेर देखाउन दिएको चुनौतीलाई हामीले स्वीकार गरी आजबाट रोक्यौं उहाँले दिएको जिम्मेवारी पूरा गरेका छौं ।’ उनले अब कुनै पनि हालतमा फोहर फाल्न नदिने बताए । श्रेष्ठले अगाडि थपे, ‘यो महानगरपालिका भरीको फोहर ल्याएर फाल्ने ठाँउ हैन । ’ स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका विषय महानगरपालिका समक्ष मागका रुपमा पेश गरेका थिए । ‘मागहरु लिएर जाँदा मेयर दाहालको ब्यवहारले चित्त दुखेको छ’ स्थानीय कुन्दन पाख्रिनले भने, ‘हामीलाई विकास चाहिएको छैन, फोहर पनि हाल्न दिदैनौं ।’

उनले फोहर लिएर आउने ट्याक्टर चालकबाट यहाँका महिला दिदिवहिनीहरु पीडित भएको सुनाए । ‘एक जना ट्याक्टर चालकले १२ बर्षिया बालिकालाई नगरवनमा गरेर बलात्कार गरे, ति बालिकाको भविश्य के हुन्छ ?’ पाख्रिनले प्रश्न गर्दै भने, ‘हाम्रा गम्भिर चासोलाई महानगरपालिकाले गम्भिरतापूर्वक लिएन । ’ संर्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्वोधन भए केही बर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयलाई मेयरको व्यवहारले भड्काएको बताए । ‘व्यवस्थित ल्याण्डफिल्ड साइट नभएसम्म स्थानीय पूर्वाधार निर्माण गरिदिए केही बर्ष फोहर फाल्न दिने सोच थियो, तर महानगर प्रमुखको व्यवहारले त्यो अवस्था रहेन’ सल्लाहाकार बरालले भने, ‘स्थानीयहरुको भेलाले अब कुनै पनि हालतमा फोहर फाल्न नदिने निर्णय गरेको छ, अब दिदैनौं ।’
नारायणगढको केन्द्र मानिने पूल्चोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० बर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीव १५० घर धुरी छन् । यहाँ पुग्ने सडक पनि गतिलो छैन ।
यहाँ हिउँदमा फालिएको फोहर बर्खामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहरबाट निस्किएको रस ढल बनेर नदीमा गएको स्पष्ट देख्न सकिन्छ । फोहर र दुषित ढल मिसिदा नारायणी नदीमा प्रदुषित बन्दै गएको छ । जलचरहरु विनास हुँदै गएका बिषयहरु पनि उठने गरेका छन् । गैंडासमेत आएर खेल्ने यो ठाँउमा महानगरले फोहर फाल्दा कुनै पनि घटना हुनसक्ने स्थानीयले गुनासो गरे । उनीहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका अन्य कारणले मरेका बच्चादेखि सालनाल, काँटिएका मानव अंग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरू समेत नदी किनारमा फाल्ने गरिएको छ ।
क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र नीजि अस्पतालहरुले दैनिक एक टन अस्पतालजन्य फोहर उत्सर्जन गर्ने गरेका छन् । ति फोहरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तैं गरि नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैंनिक ६५ टन फोहर निस्कन्छ । महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउँदै आएको छ । धार्मिक हिसावले समेत पवित्र मानिएको नारायणी नदीमा वाध्यता भन्दैं फोहर फाल्दैं आएको बर्षो वित्यो । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन ।
भरतपुर महानगरको फोहर महानगरपालिका र ठेक्कामा लगाएको नीजि क्षेत्र मिलेर उठाउने गरेका छन् । महानगरको वडा नः १ देखि ५ सम्म र वडा नः ७ देखि १२ नम्बर वडासम्मको फोहर निजी कम्पनीले संकलन गरी नदी किनारमा फाल्ने गरेको छ । वडा नः १ देखि ७ सम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट कम्पनीले फोहर उठाउँदै आएका छन् ।
फोहर व्यवस्थापनमा अवरोध खडा गरेपछि महानगरपालिकाले स्थानीय जनताका मागहरु क्रमशः पूरा गर्दै गएको र भविश्यमा पनि गर्दै जाने बताएको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताए ।
फोहर व्यवस्थापनको दीगो समाधानका लागि एक कोरियन संस्थासँग सम्झौतासमेत गरेको छ । सरकारले भरतपुर महानगरपालिका वडा नः ११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दैं जग्गा दिने निर्णय २०६८ सालमा नै गरेको हो । भरतपुरमा ल्यान्डफिल साइट बनाउन महानगरले करीव १५ बिघा जमिन पाएको छ ।
























