समाज

नेपालमै पहिलो पटक चल्यो बिजुली बस

Banner

सञ्चिता घिमिरे,

काठमाडौं भदौं २३-

नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो । रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।

उपप्रधानमन्त्री पोखरेलले बसमा बसेर प्रदर्शर्नीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहिदेगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रासमेत गर्नुभएको थियो । यात्रापछि उहाँले बस आरामदायी रहेका र नेपालका लागि उपयुक्त रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणीय र आर्थिक दुबै हिसाबले बस उपयुक्त छन् ।” उहाँले राम्रो कामको शुरुवात गर्नुभन्दा पनि शुरु गरिएको कामलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताउनुभयो ।

सुन्दर यातायातले नामजस्तै सुन्दर काम गरेको उहाँको भनाइ छ । राम्रो काम गर्न खोज्दा विभिन्न पक्षबाट अवरोध आउने गरे पनि आफूले गर्न लागेको कामबाटपछि हट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि चुनौती आउन सक्छन् तर तपाइँ हिम्मत नहारी अघि बढ्नुपर्छ ।”

प्रालिका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताउनुभयो । विद्युतीय बस सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहनुभएको र उहाँकै सुझावका आधारमा संस्थाको नाम ‘सुन्दर’ रहन गएको उल्लेख गर्नुभयो । बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ । विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रुपमा रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले नीति चाँडो बनाउनुप¥यो भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजनामा रहेको बताउनुभयो । नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिक रुपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ । अरु उद्यमीले पनि विद्युतीय सवारी साधन भित्र्याए सरकारको उक्त योजनामा सहयोग पु¥याउनुपर्नेमा उहाँको जोड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>