चितवन विशेष
कांग्रेस चितवनको दोस्रो जागरण अभियानको तयारी सुरु

चितवन, भदौं २२-
नेपाली कांग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि तयारी सुरु गरेको छ ।
कांग्रेस चितवनको आज बसेको बैठकले यहि भदौं २४ गते १०६ औं बीपी जयन्तीको अवसरबाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारीअन्तर्गत प्रदेशस्तरीय निर्वाचन क्षेत्रका लागि पार्टीका जिल्ला नेतालाई जिम्मेवारी तोक्ने, प्रचारप्रसार समिति गठन गर्ने र अभियानका क्रममा गरिने कार्यक्रमसमेत तय गरेको छ ।
कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार असोज ७ गतेसम्म सञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश (क)मा जिल्ला सहसचिव सूर्य अर्याल, (ख)मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश (क)मा जिल्ला सचिव उत्तम जोशी, (ख)मा प्रवक्ता नीता ढकाल, प्रतिनिधिसभा क्षेत्र नम्बर ३ प्रदेश (क)मा जिल्ला कोषाध्यक्ष शंकर कँडेंल, (ख)मा जिल्ला उपसभापति कैलाश कोइरालालाई जिम्मा लगाएको छ ।
अभियानका क्रममा प्रदेश क्षेत्रमा ३०० युवालाई अहिले सम्मका आन्दोलन र यसबाट प्राप्त उपलव्धि, बीपीको विचार लगायतका विषयमा जानकारी गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्व पीडितहरु संघ घरदैलो, नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समीक्षा लगायतका रहेको उनले जानकारी दिए ।
सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले जागरण अभियानको प्रचारप्रसारका लागि कांग्रेस जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष अनिल ढकाल, शिक्षक संघका पूर्वाजिल्ला अध्यक्ष ध्रुव पोख्रेल र पार्टी कार्यालयका मुख्य सचिव दुर्गा गैरे रहेका छन् ।
जागरण अभियानमा महंगी, भ्रष्टाचार, अलोकतान्त्रिक विधेयक, कम्युनिस्ट सरकारको कुशासन बढ्दो महिला हिंसा, बलात्कार र हत्यालगायतका विषयमा केन्द्रित हुने श्रेष्ठले जानकारी दिए ।
जिल्लास्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धिदेखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिए । अभियान भदौं २४ गते जिल्लाका सबै प्रदेशका क्षेत्रहरुमा एकै पटक उद्घाटन हुने छ । एउटा क्षेत्रमा १०६ वटा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ ।
अभियानको उद्घाटन अघि भोलि सोमबार जिल्लाका पूर्वपार्टी सभापति, पदाधिकारी, माननीय, पूर्वमाननियसँग छलफल गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजे बाट सुरु हुने छलफलमा भावी कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने छ । केन्द्रको निर्देशक अनुसार गर्न लागिएको सो अभियानलाई सफल बनाउनका लागि कांग्रेस चितवनले जिल्लाका सवै नेतालाई आफ्नो क्षेत्रमा सक्रिय रुपमा सहभागी हुनका लागि समेत आव्हान गरेको छ । जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा समापनको दिन विरोध प्रदर्शनसहितको कार्यक्रम हुने छ । नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गते सम्म देशव्यापीरुपमा सम्पन्न गरेको थियो ।
























